पर्यटन विभागद्वारा नेपालमा सञ्चालित क्यासिनोको अनुगमन



काठमाडौं : पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन सुुरु गरेको छ। नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ।

पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए। बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिनेछ।

नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन्। साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन्। प्रत्येका आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ। ठूला क्यासिनोले रु चार करोड र साना (मिनी) क्यासिनोले रु एक करोड वार्षिक राजश्व बुझाउनुपर्छ।

त्यस्तै नवीकरण दस्तुरबापत ठूला क्यासिनोले रु एक करोड र साना क्यासिनोले रु ५० लाख बुझाउनुपर्छ। ठूला क्यासिनोको निवेदन दस्तुर रु पाँच लाख र सानाको रु दुई लाख लाग्ने विभागले जनाएको छ।

विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजश्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो। अघिल्लो आर्थिक वर्षमा विभागले रु एक अर्ब २० करोड राजश्व असुल गरेको थियो। क्यासिनोबाट मात्रै रु ४५ करोडभन्दा बढी राजश्व जम्मा हुने गरेको छ।

क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो। सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एशोसिएशन अफ नेपाल (हान) का प्रतिनिधि रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्