एसियाडमा नेपाल : बलियो आत्मविश्वास, कमजोर तयारी



काठमाडौं । आगामी १० देखि २५ सेप्टेम्बरमा चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपालले २३ वटा खेलमा सहभागिता जनाउने भएको छ। शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले अघिल्लो संस्करणमा भन्दा ६ वटा खेल कटौती गर्दै २३ खेलमा मात्र प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

यसअघि इन्डोनेसियामा भएको १८औँ एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाएको थियो। शुक्रबार नै बोर्ड बैठकका निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालले सहभागिता जनाउने खेलहरूमध्ये महिला भलिबल, टी– २० क्रिकेट, सुटिङ र ब्याडमिन्टनलाई विशेष सूचीमा राखिएको छ । यी खेलमा नेपालले बलियो आत्मविश्वासका साथ पेस हुने बताए पनि आन्तरिक तयारी भने सन्तोषजनक छैन।

अन्य खेलमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन र उसुमा नेपालले सहभागिता जनाउनेछ। यसैगरी आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्यान्डबल महिला र टेबल टेनिसमा नेपालको सहभागिता रहनेछ। ४० खेलमा ४५ राष्ट्रिय ओलम्पिक कमिटीको तर्फबाट १० हजार खेलाडीको सहभागिता रहने जनाइएको छ। मेको पहिलो साता एसियाडका लागि दर्ता समय सकिनेछ । यद्यपि, अहिलेसम्म छनोटको प्रावधान तयार भएको छैन।

स्रोतका अनुसार एक दिनअघिसम्म तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विकले छनोटको प्रावधान तयार पारेर बुझाएका छन्। यसका बारे सबै कुराको तय भइसकेको छैन । सन् २०२० को सुरुवातमा नेपालमा कोभिड– १९ को असर देखिएसँगै खेल गतिविधि प्रभावित भएका थिए। धेरै खेलका राष्ट्रिय च्याम्पियनसिप भएका छैनन् । साथमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव विवादको असर पनि देखिएको थियो। थुप्रै खेल संघका आन्तरिक विवादले पनि प्रशिक्षणलाई प्रभाव पारेको थियो। गएका २ वर्षमा केही टिम गेमलाई छाड्ने हो भने नेपालको सहभागिता विरलै थियो । राष्ट्रिय टोलीका एक पूर्वप्रशिक्षक भन्छन्, ‘विगतको नेपालको अवस्था सबैलाई थाहा छ।

पछिल्लो २ वर्षको त झन् कुरै नगरौँ।’ उनको आशय थियो– खेलका नियमित प्रशिक्षणसम्म सञ्चालन हुन नसकेको अवस्थामा नेपालबाट अपेक्षा नै के गर्न सकिन्छ ? शुक्रबार नै आयोजित पत्रकार सम्मेलनमा नेपालले ४ खेलमा प्राथमिकता दिए पनि यथार्थमा ती खेलमा नेपालको अवस्था सहज नभएको उनको भनाइ थियो। नेपाली महिला टोलीले महिला सेन्ट्रल जोन भलिबलको उपाधि जिते पनि नेपाल रहेको जोन एसियाको कमजोर जोनको रूपमा छ।

संसारकै शक्ति राष्ट्र चीन, जापान र दक्षिण कोरिया एसियामै छन्। चीन ओलम्पिक विजेता र विश्व च्याम्पियनसिपमा प्रभाव जमाइसकेको देश हो। यसैगरी जापान पनि विश्व च्याम्पियनसिपमा प्रभाव पारिसकेको देश हो। पूर्वी एसियाका अन्य देश पनि नेपालभन्दा स्तरीय छन्। क्रिकेटमा विश्वकप छनोटमा नेपालले गरेको प्रदर्शनका आधारमा प्राथमिकताको खेल मानिए पनि नेपाल दक्षिण एसियामै पाँचौँ शक्ति हो। यसको मतलब नेपाल पदकको हकदार भने होइन ।

सुटिङको १० मिटर एयर राइफलमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । त्यसै स्पर्धामा चीन र भारत अत्यन्त बलियो देशका रूपमा छन् । चीनकी किङ क्वियाङले सो स्पर्धामा ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन् । चीन, भारत, ताइपेईलगायत एसियाका धेरै खेलाडी कल्पनाभन्दा माथिल्लो स्थानमा थिए । एसियाडमा नेपालले अनुमानित १५० खेलाडीको सहभागिता जनाउने जानकारी दिएको छ। यसैगरी २८ प्रशिक्षक तथा २० व्यवस्थापक रहने जानकारी गराइएको छ। बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुद जेठ महिनामा गर्ने निर्णय पनि गरेको छ।

गण्डकी प्रदेशमा २२ देखि २८ जेठमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदका लागि ३८ खेल समावेश गरिने भएका छन्। रग्बी सेभेन यस पटक थपिएको छ भने छेलो र क्यानोइङ प्रदर्शनी खेलका रूपमा थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्