इलाममा हतियारसहित २ जना पक्राउ



इलाम : इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो रहेका छन्। 

इलाम र पाँचथरको सीमा क्षेत्रमा शंकास्पद गतिविधि भएको सुचनाको आधारमा इलाम जिल्ला प्रहरी कार्यालय र पाँचथर जिल्लाको पौवास्थित इलाका प्रहरी चौकीको संयुक्त टोलीले चार नाल बन्दुक र त्यसमा प्रयोग गरिने बारुद, फलामका टुक्रालगायत खरखजना बरामद गरेको हो । 

गस्ती टोलीले उनीहरूको गोठमा खानतलासी गर्दा राईको गोठमा बारुद भरिएको बन्दुक एक नाल बन्दुकसहित फलामका टुक्रा तथा बारुद फेला पारेको थियो भने फागोको गोठबाट बारुद भरिएको एक नाल बन्दुक र खाली दुई नाल बन्दुकसहित सोमा प्रयोग हुने बारुदलगायत खरखजना बरामद गरेको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पक्राउ परेका व्यक्तिमाथि हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्