बक्यौता रकम २ सय ५० तोक्दा रिनाले ज्यान गुमाइन्



जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिकामा मात्र २ सय ५० रुपैयाँको लागि एक महिलाको हत्या गरिएको छ । सम्सी गाउँपालिका १ स्थित सम्सी निवासी दयाराम चौधरीका श्रीमती रिना चौधरीले आफ्नो पुरानो बक्यौता २ सय ५० रुपैयाँको ताकेता गर्दा ज्यान गुमाउनु परेको हो ।

प्राप्त जानकारी अनुसार रिनाले करिब दुई वर्ष अघि छिमेकी राजेश ठाकुरलाई भैंसीको दुध बिक्री गरेको मध्ये २ सय ५० बाँकी रहेको थियो । असार २० गतेका दिन रिनाले बक्यौता रहेको रुपैयाँ माग गर्दा राजेशले निर्घात रुपमा कुटपिट गरेको थियो ।

सो कुटपिटबाट घाइते भएकी रिनाको उपचारको क्रममा मृत्यु भएको आरोप पीडित पक्षले लगाएको छ । मृतक रिनाका १४ वर्षीय छोरा सुरज चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै आमाले दुधको पैसा माग्दा छिमेकी राजेशले किन ताकेता गरिस् भन्दै निहुँ खोज्दै निर्ममतापूर्वक कुटपिट गरेका थिए । सो कुटाइबाट घाइते भएकी आमालाई विभिन्न ठाउँसहित विराटनगरमा समेत उपचार गराए तर बाच्न सकिन्न ।

मृतक रिनाका श्रीमान वैदेशिक रोजगारका लागि मलेशियामा छन् भने उनको परिवारमा एक छोरा र तीन छोरी छन् । घरमा कोही नभएको बेला घटना भएको थियो । रिना कुटिएको थाहा पाएपछि परिवारजनले तत्कालै स्थानीय स्वास्थ्य चौकी, रामगोपालपुरस्थित स्वास्थ्य चौकी तथा जलेश्वर अस्पताल पुर्याएका थिए । 

घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी समेत दर्ता गराइएको छ । तर, प्रहरीले कुनै चासो नलिएको स्थानीय जोगिन्द्र चौधरीले गुनासो गरेका छन् ।

विराटनगरमै उपचारको क्रममा मृत्यु भएपछि बर्दिवासस्थित ईलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि मंगलबार शव मगाएर जनकपुर अञ्चल अस्पतालमा शवको पोष्टमार्टम गरिदैछ ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले केही दिनअघि तिनिहरुबीच झै झगडा भएको थियो । त्यसबारे उजुरी समेत दर्ता गराइयो । तर, पछि मोटरसाइकल दुर्घटनामा परी रिना देवी घाइते भएको जानकारी आयो र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु भएपछि कुटपिटबाट मृत्यु भएको कुरा फैलाइएको छ, वास्तविकता के हो भन्ने कुरा हामी छानबीन गरिरहेका छौ, पोष्टमार्टम रिपोर्ट आएपछि अझ प्रष्ट हुने जिप्रका महोत्तरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्