देउसी-भैलो राति १० बजेसम्म मात्रै, घट्दै देउसीको रौनक



काठमाडौं : उपत्यकामा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो । 

गत वर्ष पनि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने व्यवस्था थियो । यो व्यवस्थाले तिहारमा रातको समय देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ । ‘१० बजेपछि देउसी–भैलो खेल्न नपाइने सूचना जारी गरिसकेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले भने, ‘पटका पडकाउन निषेध गरिएको छ ।’

देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासनले समय निर्धारण गरेको जनाएको छ । यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

तीन वर्षअघि गृह मन्त्रालयले देउसी–भैलो खेल्ने समय साँझको ७ बजेसम्म तोकेपछि चौतर्फी आलोचना भएको थियो । सर्वसाधारणको विरोधपछि गृह मन्त्रालयले दुई घण्टा समय थप गर्नुपरेको थियो ।

चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न निश्चित समय तोक्ने गरेको लामाले बताए । पछिल्लो समय काठमाडौं उपत्यकामा देउसी–भैलोको माहोलसमेत विस्तारै घटदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्