नेपाल सम्वतको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत ११३९का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

 

शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् ।

 

नेपाल सम्वत्लाई परोपकारी भावना स्मरण गराउने दिन उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपाल सम्वतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको छ ।’

नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको यस अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए ।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्