ओलीले ट्रम्पसँग बढीमा दुई मिनेट कुराकानी गर्न पाउने



काठमाडाैं: झण्डै दुई हप्ता लामो भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका तर्फ प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी भएपछि उनी मध्य अमेरिकी मुलुक कोष्टारिका पनि जानेछन् । महासभा आउदो मंगलबारबाट मात्रै उच्चस्तरीय छलफल सुरु हुनेछ भने प्रधानमन्त्री ओलीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । ओलीले ट्रम्पसँग बढीमा दुई मिनेट कुराकानी गर्न पाउने कार्यतालिका रहेको छ ।

ट्रम्पले दिएको उक्त पार्टीमा अघिल्लो वर्ष न्युयोर्कस्थित नेपाली नियोगले राम्रो समन्वय गर्न नसक्दा तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटेलको गेटबाटै फर्कनु परेको थियो।

रात्रीभोजको भोलीपल्ट ओली उच्चस्तरीय सम्बोधनमा सहभागी हुनेछन् । सम्बोधनपछि उनी नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय बन्ने कार्यतालिका रहेको छ । बिहीबार सम्बोधन गरेपछि ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ ।

उनको कोस्टारिकाको भ्रमणलाई विज्ञहरुले भने अनावश्यक भ्रमणको संज्ञा दिएका छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव, झापाका मेयर, सुरक्षा गार्ड, चिकित्सक, सरकारी सञ्चारकर्मी, सहयोगीसहित २१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्