मन्त्रिपरिषद् टोलीद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन, प्रदेश–२ सरकारले केन्द्रसँग माग्यो हेलिकोप्टर 



जनकपुरधाम : प्रदेश–२ मा बाढीको अनुगमन र अवस्था बुझ्न संघीय सरकारको मन्त्रिपरिषद टोली जनकपुरधाम आएको छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जा तथा सिचाईँमन्त्री वर्षमान पुन र भौतिक पुर्वाधार विकासमन्त्री रघुवीर महासेठसहितको टोलीले अनुगमन पश्चात प्रदेशका ८ वटै जिल्लामा आएको बाढीको अवस्थाबारे प्रदेश सरकारसँग जानकारी लिएको छ।

जनकपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले तराई मधेशमा बाढीको प्रमुख कारण चुरेको क्षेत्रको संरक्षण नहुँनु रहेको बताए। उनले चूरे संरक्षण नहुँदा प्रत्येक वर्ष बाढीले तराईका जिल्लामा ठूलो क्षति पुर्याइरहेको बताए। चुरे क्षेत्रमा बस्ति बसाउनु तथा सडक निर्माणमा पूर्ण प्रतिबन्ध लगाउनु बाढीको स्थायी समाधान रहेको दाबी गरे।

टोलीमा सहभागी गृहमन्त्री थापाले प्रदेश–२ का प्रमुख सचिव दिपक सुवेदीसँग बाढीको अवस्था बुझ्दै बाढीबाट भएको क्षतिको यकिन विवरणपछि सरकारले राहत तथा पुनःस्थापनामा सघाउने बताए। उनले चुरे विनाशका कारण तराई मरुभुमि हुने अवस्थामा पुगेको समेत बताए। उनले तराई मधेशको समस्याको नीतिगत रुपमा सुधारका लागि सरकारले काम गरिरहेको जानकारी गराए।

राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै राहतमा सरकारले राजनीति गरेको आरोप लगाए। उनले सरकारलाई पटक पटक तराई मधेशका बास्तविक बाढी पीडितलाई ‘ख’ र अवास्तविकलाई ‘क’ वर्गको राहत वितरण गरेको आरोप समेत लगाए।

त्यस्तै उर्जामन्त्री पुनले कमला, बकैया, बागमतीसहितका नदीले पुर्याएको क्षतिको एकिन गरेर तत्काल मर्मत, उद्धार र राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाए। 

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रोत साधनको आभावमा अति प्रभावित क्षेत्रमा अनुगमन गर्न नसकिने अवस्था रहेकाले निरीक्षणका लागि हेलिकप्टर उपलब्ध गराउन संघीय सरकारसँग माग गरे।

बाढी प्रभावित प्रदेश–२ को रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा लगायतका क्षेत्रको अनुगमन गर्न मन्त्रीहरूका साथै संसदको विकास समितिका सभापति कल्याणी खड्का, नेकपा नेता तथा संघीय सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी लगायतको टोलीले क्षति, राहत तथा उद्धार कार्यबारे जानकारी लिएका छन्। 

प्रतिक्रिया दिनुहोस्