विश्वकप फुटबल छनोट : नेपालले पहिलो खेल कुवेतसँग खेल्ने



काठमाडौं : कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ र खेल तालिका अनुसार नेपालले पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको हो। नेपालको समूहमा कुवेतसँगै एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ रहेका छन्।  

नेपालले पहिलो खेल ५ सेप्टेम्बरमा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ। विश्वकप छनोटमा नेपालले होम एन्ड अवेको आधारमा ८ खेल खेल्नेछ। जसमा ४ होम र ४ अवे खेल रहेको छन्। समूह ‘बी’ मा रहेको नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ।

नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ। यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ गते उसैको मैदानमा खेल्नेछ। नेपालले चाईनिज ताइपेसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ।

विश्वकप छनोटमा नेपालको खेल तालिका

नेपालविरुद्ध कुवेत ५ सेप्टेम्बर २०१९ (होम)

कुवेतविरुद्ध नेपाल १९ नोभेम्वर २०१९ (अवे)

अस्ट्रेलियाविरुद्ध नेपाल १० अक्टोवर २०१९ (अवे)

नेपालविरुद्ध अस्ट्रेलिया ३१ मार्च २०२० (होम)

नेपालविरुद्ध जोर्डन १५ अक्टोवर २०२० (होम)

जोर्डनविरुद्ध नेपाल ४ जुन २०२० (अवे)

नेपालविरुद्ध चाइनिज ताइपेइ १० सेप्टेम्वर २०२० (होम)

चाइनिज ताइपेइविरुद्ध नेपाल २६ मार्च २०२० (अवे)

दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्। ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन्।

अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ। फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो। 

प्रतिक्रिया दिनुहोस्