कलाकार श्रेष्ठ भन्छन्- काठमाडौं महानगर जित्नेमा विश्वस्त छु



काठमाडौं । ३ दशकअघिदेखि कलाकारितामा सक्रिय कलाकार मदनदास श्रेष्ठले सोमबार काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन् । उनले काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचत अधिकृतको कार्यालयमा गई राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि द नेपालटपसँग कुरा गर्दै मदनदासले आफूले फोहोर व्यवस्थापन, युवा स्वरोजगार, जेष्ठ नागरिकको सवाल, ढल समस्या र ट्राफिक व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाई उम्मेदवारी दिएको बताए । ‘महानगरपालिकाको नेतृत्वमा जो आए पनि राजधानी काठमाडौं फोहोरबाट मुक्त हुन सकेन । राजधानीभित्रै जनताहरू फोहोर देखेर नाक थुनेर हिँड्नुपर्ने अवस्था आयो । त्यस कारण स्थायी रूपमा फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने मेरो प्रमुख चासो हो’, उनले भने, ‘पहिलापहिला संयुक्त राजनीति भएका कारणले फोहोरको व्यवस्थापन हुन सकेन ।

तर, अब भने व्यवस्थित र स्थायी रूपमा नै फोहोरमुक्त बनाउने मेरो प्रयास हुनेछ ।’ मदनदासले युवाहरूका लागि नगरभित्र स्वरोजगार कार्यक्रम लिएर आउने बताए। उनले युवाहरूलाई स्वस्थ रहनका लागि सार्वजनिक पार्कमा सामान्य किसिमको व्यायामको व्यवस्था गर्ने आफ्नो अवधारणा रहेको खुलाए। उनले महानगरभित्रका जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै वडावडामा सुविधाजनक ‘हेल्थ केयर सेन्टर’ स्थापना गर्ने आफ्नो एजेण्डा रहेको बताए। यसबाहेक काठमाडौंको बढ्दो ढल समस्या, जीर्ण सडकको समस्या र ट्राफिक पार्किङलाई व्यवस्थित बनाउने योजनासहितको खाका आफूसँग रहेको उनको भनाइ थियो ।

अन्य पार्टीबाट सिफारिस भएका प्रमुख र उपप्रमुखका लागि चुनावी प्रतिस्पर्धा चुनौतीपूर्ण लागे पनि आफ्ना लागि प्रतिस्पर्धा नदेखिएको दाबी गरे । ‘किनभने अहिले जनताले परिवर्तन खोजेका छन् । जनताले देखिसके र भोगिसके । उनीहरू नयाँ जनाधार र जनादेश चाहन्छन्’, मदनदासले भने । मदनदासले आफूलाई अन्य ठूला पार्टीले अफर गरे पनि राप्रपाको प्रस्तावलाई सहर्ष स्वीकारेको बताए । ‘म सामाजिक काम गरिरहने मान्छे परेँ । तर, अब आधिकारिक रूपमा नै सामाजिक काम गर्ने प्रस्ताव आएपछि प्रमुख पद स्वीकारेको हुँ किनकि राप्रपासँग मेरो मन र विचार मिल्यो’, मदनदास खुले।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा धेरै मानिसहरू प्रवेश गरिरहेकाले त्यो प्रवेश आफ्ना लागि सकारात्मक रहेको बताए। ‘त्यस कारण विजयप्रति मेरो आत्मविश्वास छ’, उनले भने । नाट्य अभिनयबाट कला यात्रा सुरु गरेका मदनदास रेडियो नाटकमा उत्तिकै जमेका कलाकार हुन् । दसैँताका रेडियोमा बज्ने रेडियो नाटकमा उनको ‘हाँसो’लाई श्रोताले उत्तिकै मनपराउँछन् । ‘के घर के डेरा’बाट फिल्मी अभिनयको सुरुवात गरेका उनले ‘पच्चीस वसन्त’, ‘तिलहरी’, ‘चेलीबेटी’ हुँदै पछिल्लो पटक ‘कीर्तिपुरः द लिजेण्ड अफ कीर्ति लक्ष्मी’सम्म आइपुग्दा झण्डै २ दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । टेलिफिल्ममा अभिनयको सङ्ख्या पनि उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्