तिहारको रौनकले नछोएको जुम्लाको यो गाउँ



जुम्ला : नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन । यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन् ।

निरन्तर आफ्नो काममा तल्लीन उनीहरुको दीपावली गाउँ शहरको जस्तो छैन । उक्त गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच घण्टा र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा हिँड्नुपर्छ । 

अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीयवासी बलवीर थापाले बताए । “हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौैँ”, उनले भने, “न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन् न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन् ।” 

उनको गुनासो थियो “प्रकृतिले खोप्रीवासीलाई ठगेकै थियो अझै त्यसमा वर्षमा एक पटक आउने पर्व दीपावलीको मनोरञ्जन साटासाट गर्नसमेत पाउँदैनौँ । बाउन्न घरधुरी रहेको हाम्रो अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइपुगेका छैनन् । ” 

अर्का स्थानीयवासी कालीबहादुर थापाले भने, “हाम्रा निम्ति राज्य चरीको दूतजस्तै भएको छ । सरकार कहाँ छ न हामीलाई थाहा छ, हामी कहाँ छौँ न सरकारलाई वास्ता छ ।” राजनीतिक, सामाजिक र शैक्षिक निकायमा यहाँको मान्छे उच्च पदमा नपुगेकाले आजसम्म आफूहरु उपेक्षित भएको र विकासका हिसाबले पनि पछि पारिएको उनको आरोप थियो । रासस

प्रतिक्रिया दिनुहोस्