तनहुँमा रङ्गशालाको डिपिआर तयार



दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो ।

ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यालयको नाममा रहेको १०० रोपनी क्षेत्रफल जग्गामा रङ्गशाला निर्माण गर्ने तयारी गरिएको छ । “हाल विद्यालयको नाममा १७० रोपनी क्षेत्रफल जग्गा छ, त्यहीमध्ये १०० रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्नका लागि डिपिआर गरेका हौँ”, वडाध्यक्ष रेग्मीले भने ।

नगरपालिकाले रङ्गशाला निर्माणलाई लक्षित गरेर बाटो सुधारका लागि आगामी आर्थिक वर्ष रु १५ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिए । रङ्गशालाभित्र फुटबल मैदान, कभर्डहल, पार्किङ, चमेना गृह, टिकट काउण्टर, प्रशासनिक भवनलगायत निर्माण गरिनेछ । रङ्गशाला निर्माणका लागि करीब रु २० करोड बजेट आवश्यक पर्ने देखिएको वडाध्यक्ष रेग्मीले बताए ।

“नगरपालिकाकै ठूलो ‘प्रोजेक्ट’को रूपमा रङ्गशालालाई लिएका छौँ”, रेग्मीले भने, “नगरपालिका एक्लैको प्रयासले मात्रै यो सम्पन्न गर्न सम्भव छैन । सबै तहका सरकारलाई रङ्गशाला निर्माणमा सहयोग गर्न अनुरोध गर्नेछौँ ।” उनका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार, नगर विकास कोष तथा अन्य दातृ निकायलाई आकर्षित गरी यथाशीघ्र निर्माण प्रक्रिया शुरु गर्नका लागि नगरपालिकाले कदम लिनेछ ।

नगरपालिकाले वडान नं ४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको जग्गामा नगर बसपार्क निर्माणका लागि पनि डिपिआर तयार गरेको छ । त्यस्तै नगरपालिका–२ एक्लेखेतमा चिस्यान केन्द्र निर्माणका लागि पनि डिपिआर तयार भएको नगरपालिकाले जनाएको छ ।

‘खानेपानीका लागि अब लाइन बस्नुपर्दैन’

“गाउँमा खानेपानीको समस्याले बिहानै ३ बजेदेखि खानेपानीको जोहो गर्न धारामा पालो कुर्नुपथ्र्यो”, तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटका स्थानीयवासी धनकुमारी थापाले भनिन्, “अब खानेपानी जोहो गर्नका लागि सबेरै उठेर धारामा लाइन बस्न जानुपर्दैन ।”

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका महिलाहरु घर–घरमै धारा जडानपछि दङ्ग छन् । यहाँका ४८ घरधुरीका लागि एउटा मात्र धारा थियो । खानेपानीका लागि महिलालाई बिहानै ३ बजेदेखि उठेर धारामा पालो कुर्नुपर्ने बाध्यता अब अन्त्य भएको छ । “बिहानै उठेर धारामा पालो नकुरे खानेपानी पाउन मुस्किल हुन्थ्यो”, अर्का स्थानीयवासी महिला कुमारी आलेले भनिन्, “अब खानेपानीकै जोहोको लागि गर्ने दुःख हटेको छ ।” खानेपानीको जोहो गर्नकै लागि समय छुट्याउनुपरेपछि घरको अन्य काम गर्न पनि कठिनाइ हुने गरेको स्मरण गर्दै आलेले अब भने घरायसी काम गर्न समयको बचत हुने भन्दै खुशी व्यक्त गरीन् ।

वडा कार्यालयको आर्थिक सहयोग तथा उपभोक्ता समितिको श्रमदानमा यहाँका ४८ घरधुरीमा धारा जडान भएपछि वडाध्यक्ष काजीमान श्रेष्ठको प्रतिबद्धता सँगसँगै स्थानीयवासीको खानेपानीको चाहना पनि पूरा भएको छ । 

वडा कार्यालयको रु आठ लाख र स्थानीयवासीको रु दुई लाख बराबरको श्रमदान गरी कूल रु १० लाखमा घर–घरमा धारा जडान गरिएको मिलीजुली मास्दीटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार गाउँमा रहेको एउटा सार्वजनिक धारामार्फत स्थानीयवासीले खानेपानी प्रयोग गर्दै आएका थिए । “उक्त धाराबाट एक समय मात्रै पानी आउने भएकाले एक घरले मुस्किलले दुई गाग्री मात्रै पानी भर्नुपर्ने बाध्यता थियो”, उनले भने, “घर–घरमै धारा जडानपछि अब खानेपानीको समस्या टरेको छ ।”

वडाध्यक्ष श्रेष्ठका अनुसार चालू आर्थिक वर्षमा रुम्सीमा ११३, ठिनमा ७१, हर्कपुरमा ३८ घरमा धारा जडान भइसकेको र बाँकी घरधुरीमा पनि आगामी आर्थिक वर्षभित्र खानेपानी सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । वडाका ८२३ घरधुरीमध्ये हालसम्म ७३१ घरधुरीमा खानेपानी सुविधा पुगिसकेको छ ।     

प्रतिक्रिया दिनुहोस्