परीक्षामा स्वतन्त्र उम्मेदवार



काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा ५ हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये धेरै जना आफू आबद्ध दलबाट टिकट नपाएका तथा गठबन्धन दलमा विद्रोह गर्नेहरू छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मूलधारको राजनीतिमा आउन दल दर्ता गरेर निर्वाचनमा होमिने तयारी ग¥यो । तर, निर्वाचन आयोगमा दल दर्ता गर्ने समय घर्किएपछि विप्लव समूहले स्वतन्त्र उम्मेदवारीको विकल्प रोजेको छ ।
दलको आधिकारिक हैसियत नभए पनि जनसमर्थन र परिवर्तनका माहोल आफ्नो पक्षमा रहेको नेकपाका नेताहरूको दाबी छ । विप्लव समूहका नेता, कार्यकर्ता कालीकोटका ९ वटै स्थानीय तहमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका छन् ।
दलको ‘स्कुलिङ’मा नहुर्किएकाहरूले यस पटक बाक्लै सङ्ख्यामा स्वतन्त्र हैसियतमा पालिका र वडाको नेतृत्व गर्न उम्मेदवारी दिएका छन् । पहिलो पटक मतदान गर्ने काठमाडौंका युवा ३१ वर्षीय बालेन शाहप्रति आकर्षित छन् । र्‍यापर, सङ्गीत कम्पोजर, गीत लेखक, निर्देशक र स्ट्रक्चरल इन्जिनियर शाहले युवाकेन्द्रित धेरै मुद्दा अघि सारेका छन् । पर्यटन र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स पनि आयोजना गर्ने उनको घोषणापत्रमा उल्लेख छ ।
धनगढी उपमहानगरपालिकामा यस पटक पनि गोपाल हमाल स्वतन्त्र उम्मेदवार भएका छन् । गत निर्वाचनमा पनि प्रमुखमै स्वतन्त्र उम्मेदवार भएका हमाल कांग्रेसका नृप बडका निकटतम प्रतिद्वन्द्वी थिए । त्यसको केही महिनापछि उनी विवेकशील साझा पार्टीमा आबद्ध हुँदै सुदूरपश्चिम संयोजक बने ।
पछिल्लो समय विवेकशील साझा पार्टी छाडेका हमाल यस पटक स्वतन्त्र उम्मेदवार भएका छन् । उनकै समूहबाट वडा– ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा– ५ मा पद्मराज भट्ट, १४ मा यमबहादुर लामिछाने मगर, १५ बाट कमलबहादुर ढाट र वडा– ९ मा रमेशबहादुर विष्ट वडा अध्यक्षका उम्मेदवार छन् ।
हमालले ५ वर्षमा धनगढीलाई नमुना शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले ५ वर्षको अवधिमा नगरपालिकाबाट पाउने कुनै पनि सुविधाको उपयोग नगर्ने जनाएका छन् ।
‘नगरपालिकाको बजेटको कुनै पनि अंश हवाई टिकटदेखि अन्य सामान्य खर्च पनि मेरो नाममा हुनेछैन’, द द नेपालटपसँगको कुराकानीमा हमालले भने । उनी धनगढी र आसपासका भेगमा प्रभाव जमाएको दिनेश ग्रुपपका प्रोप्राइटर हुन् ।
जनकपुर उपमहानगरपालिकामा निर्माण व्यवसायी बलराम महतो स्वतन्त्र उम्मेदवार भएका छन् । १३ वर्षको उमेरमा विवाह गरेर १४ वर्षको उमेरमा पारिवारिक विद्रोह गरेकी माया गुरुङको छवि ‘सेभेन समिटर’ अभियानको अगुवाको रूपमा छ । उनकै नेतृत्वमा सन् २००८ मा १० जना महिलाको टोलीले सगरमाथा आरोहण गरेको थियो ।
यसैमध्येका ७ जनाले पछि ‘सेभेन समिटर’ अभियानको रूपमा संसारका सबै महादेशका शीर्ष हिमाल आरोहण गरेको थियो । बलिङ खेलकी पूर्व राष्ट्रिय च्याम्पियन मायाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँ पालिकामा अध्यक्षको उम्मेदवारी दिएकी छन् ।
पोखरामा केही समयअघिदेखि मूलधारको राजनीतिमा असहमत युवाहरूले ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए । त्यसै अभियानका परिकल्पनाकार गनेश पौडेलले पनि पोखरा महानगरमा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । मोरङको सुन्दरहरैँचा नगरपालिकामा डा. प्रकाश भट्टराई स्वतन्त्र उम्मेदवार भएका छन् । उनी लामो समय गैरसरकारी संस्थामा सक्रिय रहेका थिए ।
यसअघि नै प्रमुखमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी सुनिता डङ्गोल भने अहिले काठमाडौं महानगरमा एमालेबाट उपप्रमुखको उम्मेदवार भएकी छन् । पुराना पार्टीले जनआकाङ्क्षाअनुसारका काम गर्न नसकेका भन्दै आफूले प्रमुखमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी उनलाई एमालेले उपप्रमुखको उम्मेदवार बनाएको हो ।
काठमाडौंको नागार्जुन नगरपालिकामा राजन कोइराला स्वतन्त्र रूपमा प्रमुखको उम्मेदवार भएका छन् । उनी विगतमा अमेरिकामा थिए । आर्थिक, सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न पृष्ठभूमिबाट राजनीतिको फड्के तर्न प्रयत्न गरिरहेका यस्ता पात्रले पुराना र स्थापित पार्टीका उम्मेदवारलाई धेरथोर टक्कर दिने विश्लेषण गर्न थालिएको छ ।
दलका उम्मेदवारले प्रतिबद्धताअनुसार नतिजा देखाउन नसकेका उदाहरण पर्याप्त भएका बेला स्वतन्त्र उम्मेदवारले नीति निर्माण तहमा ठूलै छलाङ भने मार्न नसक्ने विश्लेषकहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्