धनगढी बम विस्फोटः घाइते एकजनाको उपचारको क्रममा मृत्यु



धनगढी : कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।  बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका ६ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । 

बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट हुँदा ५ जना घाइते भएकामा सिंहको मृत्यु भएको हो । बमको छर्राले उनको शरीरको ढाड, खुट्टाको मासुु बाहिर छुट्टिएको थियो । 

 बम विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको भने  धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको  छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए । घाइतेको शरीरको अधिकांश भाग जलेको जनाइएको छ । 

निकै शक्तिशाली  बम विस्फोट भएकाे जनाउँछ ।  त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

शंका विप्लव समूहमाथि

प्रहरीले घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहको संलग्नता रहेको आशंका गरेको छ । मृतक रामबहादुर सिंहले टिफिन बक्समा फिट गरेको बम झोला राखेर पिठ्युमा बोकेको प्रहरीको आशंका छ ।

त्यस्तै, घाइते मध्येका लक्ष्मण सेरेलाको पनि घटनामा संलग्न हुन सक्ने प्रहरीको आशंका छ । उनीहरु मोटरसाइकलमा आएको र खाजा खान होटलमा बसेका थिए ।तर नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्