यस्तो हुँदैछ शीर्ष नेताहरुको भाइटीका, हेर्नुहोस् कसले कोसँग टीका लगाउँदैछन्



काठमाडौं : तिहारको समयमा मुख्य राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री, एवम् मन्त्रीहरूले फुर्सद पाएका छन् । तिहारको समयमा पार्टीले आयोजना गरेको चियापानबाहेक अन्य राजनीतिक गतिविधि नभएकाले उनीहरुले फुर्सद पाएका हुन् । र, उनीहरू तिहारको रमझममा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाउँदै आएकी छन् ।

अर्का भाइ अमेरिकामै बसोबास गर्ने भएकाले यसपटक पनि डेगेन्द्रलाई नै टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ । राष्ट्रपतिले शुभसाइतमै राष्ट्रपति भवन शीतल निवासमा टीका लगाइदिने छिन् ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकाल काठमाडौं आइसकेका छन् ।

धपेडीका कारण दसैँलगत्तै ओछ्यान परेका प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्य लाभ गरेको र तिहारमा टीकाटालोको कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको हो ।

यता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने बरखीमा छन् । गतवर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको जूठो नसकिएकाले उनले यसवर्ष टीका थाप्ने छैनन् । यद्यपि घरमै कार्यकर्ता भेटघाट गरेर तिहार मनाउने उनको सचिवालयले जानकारी दिएको छ ।

पार्टीका तेस्रो वरियताका नेता माधव नेपालले बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउनेछन् ।

त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभ साइतमै टीका थाप्ने कार्यक्रम रहेको खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने बहिनी सुशीला खड्काको हातबाट वर्षेनी टीका थाप्दै आइरहेको र यसपटक पनि खड्काले नै टीका लगाउने उनको सचिवालयले जानकारी दिएको छ ।

पार्टीका अर्का नेता रामचन्द्र पौडलले भने ठूलीआमाकी छोरी चन्दा ओझाबाट टीका थाप्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्