प्रचारमा हिँड्न नमानेपछि गीत नै गायब !



काठमाडौं । ‘द भ्वाइस नेपाल– ३’ बाट गायनमा उदाएकी गायिका बेनिशा पौडेलले साङ्गीतिक करियरमा पहिलो पटक यसपालि ३ वटा पार्टीका लागि चुनावी गीत गाइन् । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको गीत गाउँदा उनी जति खुसी थिइन्, नेपाल कम्युनिस्ट पार्टी एमालेको गाउँदा उनी त्यति नै दुःखी भइन् ।

कारण थियो, उनको गीत हटाइनु । एमालेको गीत स्टुडियोमै सुनेर तत्कालै गीत रेकर्ड गराएकी बेनिशालाई एमालेले चुनावी प्रचारमा हिँड्नका लागि प्रस्ताव गरेको थियो तर उनले त्यो प्रस्तावलाई अस्वीकार गरिन् । ‘एमालेको गीत गाएपछि पार्टीका दाइहरूले मलाई प्रचारप्रसारमा पनि हिँड्नुपर्छ भन्नुभयो । मैले उहाँहरूको प्रस्तावलाई अस्वीकार गरेपछि मैले रेकर्ड गरेको गीतलाई हटाएर उहाँहरूले अरू कसैको स्वरमा गीत रेकर्ड गराउनुभएछ’, बेनिशाले भनिन्, ‘मैले उहाँहरूलाई म व्यावसायिक गायिका हुँ। म एउटै पार्टीमा हिँड्न मिल्दैन ।

मैले विभिन्न पार्टीका गीत गाएकी छु भनेपछि उहाँहरूले मेरो गीत हटाइदिनुभएछ ।’ बेनिशालाई उनका फ्यानले पार्टीका गीत नगाउनू नभनेका होइनन्, तर करियरले उनलाई त्यो काम गर्न बाध्यता बनाइदियो। ‘मैले कांग्रेस र राप्रपाका गीत गाउँदा उहाँहरूले यस्तो प्रस्ताव गर्नुभएको थिएन । तर, एमालेको प्रमोसनमा पनि हिँड्नुपर्छ भनेपछि त्यो मेरालागि अस्वीकार्य नै भयो’, उनले भनिन् । एमालेको जनसङ्गीत कलाकार संघका केन्द्रीय अध्यक्ष बैकुण्ठ महत बेनिशाको आरोपलाई अस्वीकार गर्छन् । ‘बेनिशाले मसँग काम नै गर्नुभएको छैन। एमालेको गीत गाउनेहरू धेरै छन् ।

एमालेका अरू मान्छेले आफ्नै गीत गरे होलान् । तर, हामी गीतको भोकल हटाउने काम गर्दैनौँ’, बैकुण्ठले भने, ‘बेनिशा बहिनीले हामीसँग गाउनुभएकै छैन । हाम्रो गीतमा भोकल गरेको मान्छेको गीत हटाउँदैनौँ । हामी कसैलाई पनि जबर्जस्ती चुनावी प्रचारमा हिँड भनेर बाध्य बनाउदैनौँ । कलाकारलाई हायर गरेर उनीहरूलाई लागेको पारिश्रमिक दिएर गाउन लगाउने हो।’ गायिका राधिका हमालको चुनावी गायन बेनिशाको जस्तो दुःखपूर्ण छैन। नेपाल सांस्कृतिक संघकी कोषाध्यक्षसमेत रहेकी गायिकाले यस पटक माउ पार्टी नेपाली कांग्रेसका मात्र झण्डै २ दर्जन चुनावी गीत गाइन्। ‘मलाई अन्य पार्टीका गीत गाउन अफर आए पनि मैले गाइनँ। मेरो सम्पूर्ण ध्यान कांग्रेसमै गयो ।

मलाई जनताले के भन्छन् भन्नेमा डर छैन। कलाकार सबैको हो तर विचारचाहिँ आ–आफूले राख्न पाउनुपर्छ’, राधिका भन्छिन्। राधिकासँग पार्टीकै गीत गाएका कारण मेला र महोत्सवमा विभेद भोगेको अनुभवचाहिँ छ। महोत्सवमा दर्शकले राधिका हमाललाई खोजे पनि आयोजकले भने विभिन्न बहाना बनाउँदै आउन नसकेको जबाफ दिन्छन् । किनकि आयोजक संस्थाभित्र विभिन्न पार्टीका व्यक्तिहरू हुन्छन्। उनीहरूबीच नै भिन्न विचार भएपछि मैले थुप्रै मेला–महोत्सवमा सहभागिता जनाउन पाएको छैन’, राधिकाको भनाइ छ। उनका अनुसार सांस्कृतिक संघबाट निर्माण भएका सबै चुनावी प्रचारमा संघकै सदस्यहरूको मात्र संलग्नता छ।

लोकगायक कुलेन्द्र विकले यस पटकको चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेका एक–एकवटा गीत गाए । उनी यस गायनलाई व्यावसायिक प्रयोजनका रूपमा मात्र लिन्छन्। ‘मैले पार्टीको समर्थन भन्दा पनि विशुद्ध व्यावसायिक मर्यादा निभाएको हुँ। म गीत गायनको मामलामा स्वतन्त्र छु’, कुलेन्द्र भन्छन्। कुलेन्द्रलाई उनका शुभचिन्तकहरूले पार्टीको गीत नगाइदिनू भन्छन् ।

शुभचिन्तकहरू उनले लोक संस्कृतिसँग सम्बन्धित गीत गाऊन् भन्ने चाहन्छन् । ‘उहाँहरू पहिला जसरी काम गरिरहनुभएको थियो, अहिले पनि त्यसरी नै काम गरिदिनू भन्ने चाहना राख्नुहुन्छ । तर, मेरो बुझाइमा एउटा गायक/गायिकाले निश्चित पार्टी भन्दा पनि सबै पार्टीको स्वतन्त्र रूपमा गीत गाउनुपर्छ जस्तो लाग्छ’, कुलेन्द्रको दाबी छ । गीत गाएरै चर्चामा आएका स्थापित कलाकारले चुनावी गीत गाएबापत पारिश्रमिक भने लिएको बताए ।

दलका लागि गीत गाए पनि आफूहरूले पारिश्रमिक भने पाएको गायक÷गायिकाहरू बताउँछन् । तर, कुन पार्टीले कति पारिश्रमिक दिए भन्ने उनीहरू खुलाउन चाहँदैनन् । नेपाल सांस्कृतिक महासंघका महामन्त्री गणेश सुवेदी कलाकारहरू कुनै पार्टीमा आबद्ध भएर चुनावी प्रचारमा जुट्नुलाई सामान्य मान्छन् । ‘नेपालका करिब १० प्रतिशतबाहेक सबै कलाकारहरू कुनै न कुनै पार्टीमा आबद्ध छन्’, उनी भन्छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनीहरू खुलेरै लागेका छन्, जसका कारण करियरको कुरा गर्दा मेला महोत्सवमा केही असर परेकै छ। हाम्रै पार्टीका साथीहरूलाई विभिन्न जिल्लामा उद्योग वाणिज्य संघ तथा अन्य संस्थाले आयोजना गर्ने कार्यक्रममा बोलाउनुहुन्न’, गणेश स्वीकार्छन् । नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष दिनेश डीसी चुनावी प्रचारका लागि संघभित्र र संघबाहिर दुवै गायक/गायिकाले गीत गाएको बताउँछन् ।

‘कुनै पनि कलाकार पार्टी प्रवेश गर्दा भलै त्यो पार्टी मन नपराउने उनका फ्यानहरूको सङ्ख्या घट्ला तर पार्टीभित्र भने फ्यानको सङ्ख्या दोब्बर हुन्छ । त्यस कारण कोही कलाकारको करियरमा धेरै असर पर्दैन बरु फाइदा हुन्छ’, उनी भन्छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष तथा गीतकार, गायक र सङ्गीतकार चेतन सापकोटा यस पटक महासंघका सदस्यहरूले र महासंघबाहिरका नयाँ अनुहारले चुनावी गीत गाएको बताउँछन् । ‘महासंघका भन्दा पनि महासंघ बाहिरका साथीहरूले धेरै गीत गाए।

सायद उनीहरूमा माओवादीको गीत गाउँदा हिट भइन्छ कि भन्ने भएको हो कि !’, चेतनको दाबी छ। गायक/गायिकाले पार्टीको गीत गाउनुलाई अनौठो मान्न नहुने चेतनको तर्क छ । ‘राम्रो मादल बजाउन जान्यो भने त्यसलाई सबैले मनपराउँदा रहेछन् । राम्रो गीत गाउन सक्यो भने त्यो सबैको प्रिय हुन्छ भन्ने हो । गायनमा कसैले व्यावसायिक धर्म निर्वाह गर्छ भने त्यसमा आपत्ति जनाउनुपर्दैन । उसको करियरमा पनि केही असर गर्दैन’, चेतन तर्क गर्छन् ।

प्रतिक्रिया दिनुहोस्