‘विप्लवसँग वार्ता हुँदैन’



काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहसँग वार्ता नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शान्तिपूर्ण राजनीतिकमा आउने विश्वासिलो आधार नभइ विप्लवसँग वार्ता नहुने स्पष्ट पारेको हो । 

शुक्रबार सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सो कुरा बताएका हुन् । उनले शक्ति सञ्चय गर्नका लागि वार्ताको हल्ला गरेर नहुने बताए । 

‘हामीले २०५२ सालदेखि १० वर्षको सशस्त्र युद्ध झेलेका छौं । गुमेको शक्ति सञ्चय र दाउपेचका लागि वार्ता हुन सक्दैन’ उनले भने । पछिल्लो समय सरकार र सत्तारूढ नेकपाले भूमिगत राजनीति गरिरहेको विप्लव समूहलाई वार्तामा ल्याउन पहल गरिरहेको चर्चा छ । सरकारले विभिन्न सूत्रमार्फत विप्लवसँग वार्ता प्रयास गरिरहेको भन्नेबारे सञ्चारमन्त्री बास्कोटाले सःसर्त कसैसँग वार्ता हुन नसक्ने स्पष्ट पारे । 

‘सीके राउत जस्तै शान्तिपूर्ण राजनीतिमा आउन खोजे सरकारले सधैं स्वागत गर्छ । तर, वार्ताका नाममा पक्राउ परेका कार्यकर्ता छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने जस्ता सर्त स्वीकार्य हुँदैनन् । यो हिंसालाई वैधता दिने र दुनियाँलाई भूलभूलैयामा पार्नेबाहेक केही होइन । हामी दोस्रो हापुरे घटना हुन दिँदैनौं’ मन्त्री बास्कोटाले भने । 

साथै उनले विप्लवसँग वार्ताका लागि अनौपचारिक छलफल हुनु सामान्य भएको बताए । तर अहिलेकै अवस्थामा विप्लवसँग वार्ता सम्भव नरहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्