सरकारको कदमविरुद्ध विप्लव : ७ गतेदेखि सरकारी गाडी सडकमा गुडाउन प्रतिबन्ध 



काठमाडौं : प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा समूहले सेतो नम्बर प्लेट (सरकारी गाडी)हरु सडकमा गुड्न प्रतिबन्ध लगाउने भएको छ । 

साउन १ गते (बुधबार) विप्लव मध्य पश्चिम कमाण्ड इञ्चार्ज वीरजंगले विज्ञप्ति जारी गर्दै राज्यको कदमका विरुद्ध साउन ७  गतेदेखि सरकारी गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ । यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ताबीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ ।’ मध्य पश्चिम कमाण्ड इञ्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, ‘राजनीतिक लडाइँको मोर्चामा हारेको विरोधी सत्ताले हाम्रा नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको छ । यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण बकवास गोयबल्स शैलीमा फैलाएको छ र थप दमनको तयारी गरिरहेको छ ।’

जनताको गाउँ–गाउँमा सिंहदरबारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान सञ्चालन गरेर जनपक्षीय आवाजलाई बन्द गर्ने कार्य सरकारबाट भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

‘उता कथित जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै ट्रिपर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । साथै कतिपय कथिन जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध यही साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको छ ।’

साथै उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारबाही चलाउने कुरा जानकारी गराउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु सोही निर्णय अनुसार अगाडी बढ्नसमेत यो वक्तव्य मार्फत् जानकारी गराइएको छ । 

प्रतिक्रिया दिनुहोस्