वीरगन्ज भन्सारको राजश्व संकलनमा कमी, यस वर्ष पनि लक्ष्य पूरा भएन



वीरगन्ज : मुलुकको अर्थतन्त्रमा आधा भन्दा बढि योगदान दिँदै आएको वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व असुली विगत २ वर्षदेखि निरन्तर खस्कदै गएको छ।

मुलुकको कुल राजश्व संकलनमा ५४ प्रतिशत योगदान दिँदै आएको वीरगन्ज भन्सार कार्यालयले २ आर्थिक वर्षदेखि भने भन्सार विभागले दिएको राजश्व असुलीको लक्ष्य पूरा गर्न सकेको छैन्। 

भन्सारले लक्ष्य भन्दा १४ प्रतिशत अर्थात २४ अर्ब ७ करोड ४४ लाख  कम राजश्व संकलन गरेको छ। विभागले गत आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८५.९७ प्रतिशत मात्र अर्थात १ खर्ब ४७ अर्ब ५३ करोड १३ लाख ७५ हजार मात्र राजश्व संकलन गर्न सकेको हो। 

अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा पनि वीरगन्ज भन्सार कार्यालय, राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको थियो। लक्ष्य भन्दा ९७ प्रतिशत मात्र अर्थात १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र राजश्व संकलन गरेको थियो। विभागले १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो। 

लगतार दुई वर्षदेखि विभागले दिएको लक्ष्य पूरा गर्न असफल वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५–७६ को सुरुका तीन महिना साउन, भदौ र असोजमा मात्रै राजश्व असुलीको लक्ष्य पूरा गरेको थियो। त्यसपछिका ९ महिनामा भने विभागले दिएको लक्ष्य पूरा गर्न नसकेका कारण गत आर्थिक वर्षको लक्ष्य पूरा हुन नसकेको हो।

वीरगन्ज नाकामै रहेको सिर्सिया सुख्खा बन्दरगाह ड्राइपोर्ट भन्सार कार्यालय पनि विगत दुई आर्थिक वर्षदेखि लगातार राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल छ। ड्राइपोर्ट भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ८९.३६ प्रतिशत मात्र अर्थात ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजश्व संकलन गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा पनि ड्राइपोर्ट भन्सार कार्यालयले लक्ष्यभन्दा १ अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजश्व उठाएको थियो। वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयका कर्मचारीले विभागले दिएको राजश्व संकलनको लक्ष्य नै बढि भएका कारणले लगातार २ वर्षदेखि लक्ष्य पूरा हुन सकेको बताएका छन्।  

गत २ आर्थिक वर्षदेखि विभागले, अघिल्ला आर्थिक वर्षको भन्दा ३० प्रतिशतले बृद्धि गरी राजश्व संलनको लक्ष्य दिएको तर, लक्ष्य बढाएदेखि नाकाबाट मालवस्तुको पैठारीमा भने कमि आएका कारण लक्ष्य पूरा हुन नसकेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी मनिष महत्तोले बताए। 

‘गत आर्थिक वर्षका लागि राजश्वको लक्ष्य ३० प्रतिशतले बढेकामा आयात भने १५ प्रतिशत मात्र वृद्धि भयो, उनले भने, ‘सवारी साधन र केही औद्योगिक कच्चा पदार्थको आयातमा कमि आएका कारण लक्ष्य पुरा हुन सकेको छैन।’ बढी राजश्व दिने जिप, कार भ्यान, गाडीका चेसिस, मोटरसाइकल, क्लिंकर, सिमेन्टलगायत वस्तुको आयातमा कमि आएको उनले बताए।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले पनि भन्सार विभागले जुन परिमाणमा लक्ष्य बढायो त्यसको अनुपातामा व्यापारमा बढोत्तरी नभएका कारण मालसामानको पैठारीमा कमि हुन आइ भन्सारले राजश्वको लक्ष्य पूरा गर्न नसकेको बताए। 

प्रतिक्रिया दिनुहोस्