कांग्रेस नेता भन्छन्– ‘केपी ओलीले रेल र पानीजहाज चलाउँछन्, काम गर्न दिऊँ’



काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान रहेको बताएका छन् । 

'उहाँ मेरो फ्यान हो । म पनि ओलीको फ्यान हुँ । अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन', गुरूङले भने, 'कांग्रेसले पनि अहिले विरोध गर्नुहुँदैन । यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ  ।'

बुधबार राति रिपोर्टर्स क्लब नेपालले गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री गुरुङले यस्तो बताएका हुन् । 

'ओलीजीसँग स्पष्ट भीजन छ । विकास र समृद्धिको खाका उहाँसँग छ । उहाँले रेल र पानीजहाज दुवै चलाउनुहुन्छ । उहाँले गरेको कामको म उच्च मूल्याङ्कन गर्छुु', प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने, 'विकास र समृद्धितर्फ मुलुक अघि बढ्नुपर्छ । र, भ्रष्टाचार अन्त्य हुनुपर्छ, यसमा ओली सफल हुनुपर्छ ।'

त्यस्तै उनले वर्तमान श्रममन्त्री गोकर्ण विष्टले पनि राम्रो काम गरेको भन्दै प्रशंसा गरे । वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्री विष्टले व्यवस्थित् गर्ने काम गरेको भन्दै उनले खुलेर प्रशंसा गरे । 'मैले सुरु गरेका कतिपय कामहरु पूरा भएका थिएनन्', गुरूङले भने, 'तर, उहाँले गरेर देखाउनुभयो । मैलेभन्दा राम्रो काम उहाँले गर्नुभयो ।'

कांग्रेस पार्टी अब एक भएर अघि बढ्ने उनले विश्वास दिलाए । 'अब अनेकता पनि एकतामा परिणत हुन्छ । गुट उपगुट अन्त्य हुन्छ ', उनले भने, 'सभापति देउवाजी र बरिष्ठ नेता पौडेलजीबीच अब कुरा मिल्छ । यसमा कुनै शंका छैन । मुलुक समृद्धितर्फ बढिरहेको छ । अब हाम्रो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।'

प्रतिक्रिया दिनुहोस्