तनहुँमा ५ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ



तनहुँ : तनहुँमा ५ वर्षीया बालिका बलात्कारको सिकार बनेकी छन्। जिल्लाको व्यास नगरपालिका–७ पल्लो नरंगाकी पाँच वर्षीया बालिकालाई बुधबार साँझ साथीहरूसँग खेल्ने क्रममा एक युवकले फकाएर मकैबारीमा लगि बलात्कार गरेका थिए।

बलात्कारको आरोपमा छिमेकी १९ वर्षीय नविन थापा पक्राउ परेका छन्। आरोपित थापा ऋषिङ गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। बालिका बलात्कारको उजुरी आएपछि ती युवकलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।

थापालाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। बालिकाले हजुरआमालाई भनेपछि घटना सार्वजनिक भएको हो। ती बालिका मामाघरमा हजुरआमासँग बस्दै आएकी थिइन्।

जिल्ला अस्पताल दमौलीमा उपचाररत उनलाई थप उपचारका लागी बिहीबार गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। उपचारको क्रममा बालिकाको अप्रेशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्