‘प्रधानमन्त्री बालुवाटारमा असुरक्षित भए भद्रकाली ब्यारेक बसे हुन्छ’ 



काठमाडौं : नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गजुरेलले यस्तो जन आन्दोलनको खाँचो औल्याए।

उनले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधामा रहेको पनि टिप्पणी गरे। उनले भने,‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ। दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरू आएका छन्। तर, जनता भने पुरै कन्फ्युजनमा छन्। साँच्चै वार्ता होला त भनेर ?’ उनले भीडन्तहरू हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरापनि औंल्याए।

उनले भने,‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ।’ उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे। गजुरेलले भने,‘प्रतिबन्ध लगाउनु नै हुँदैन थियो। संविधानमा पनि यो कुरा निषेध गरिएको छ।’ एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए।

गजुरेलले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति दिँदै भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि। तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन्। यो गलत छ।’

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्न समेत बन्देज लगाएकोमा आक्रोश पोखे। वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उनको गम्भिर आरोप छ।

अहिले सरकारले फेक इन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप थियो। ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागु गरेको पनि उनले टिप्पणी गरे। सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उनले आरोप लगाए। 

प्रतिक्रिया दिनुहोस्