पाइपलाइनबाट नेपाल आइपुग्यो तेल



वीरगन्ज : बहुप्रतिक्षित मोतीहारी अमलेखगन्ज पाइपलाइन परियोजनाको निर्माण कार्य सम्पन्न भई सफल परिक्षण भएको छ। अमलेखगन्जस्थित भण्डारण ट्यांकीमा शुक्रवार बिहान पौने ७ बजे पाइपमार्फत डिजेल भित्र्याएर सफल परिक्षण गरिएको अमलेखगन्ज डिपोको प्रमुख प्रदीप यादवले बताए।

१५ महिनाअघि निर्माण कार्य सुरु भएको परियोजनाको ८ महिना अगावै सफल परिक्षण भएको हो। यसको लागत ३ अर्ब २५ करोड भारतीय रुपैयाँ रहेको छ। आज बिहान पाइपलाइनबाट तेल आएको प्रमुख यादवले बताए।

कुल ६९.२ किलोमिटर लामो पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ। पाइपलाइनमा २१ लाख लिटर तेल मौज्दात हुन्छ। पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने उनले बताए।

पाइपलाइनको रक्सौलबाट २ किलोमिटरको दुरीमा एक र नेपालतर्फ गण्डक र जीतपुरमा २ वटा रिर्टनीङ्ग भल्व राखिएको छ। जसले गर्दा तेललाई उतै फर्किन दिँदैन। बुधबार दिउँसो १२ बजे पटनाबाट पम्पिङ्ग भएको तेल शुक्रवार बिहान आइपुगेको हो। अब कुनै पनि बेला स्वीच थिच्दा अमलेखगन्जमा तेल झर्ने परियोजनाका प्राविधिक परामर्शदाता शरद पौडेलले बताए।

‘मोतीहारी अमलेखगन्ज पाइपलाइन संचालनमा आएपछि निगमकोे शत प्रतिशत तेल ढुवानी खर्च बच्ने छ’, डिपोका प्रमुख यादवले भने, ‘वर्षौदेखी चलिरहेको मिसावट र चुहावटमा पनि नियन्त्रण हुन्छ। यसले वातावरण प्रदुषणलाई समेत नियन्त्रण गर्छ।’

नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौंता भएको थियो। एक दशकसम्म सुरु हुन नसकेको परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो। त्यसबेला तत्कालिन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच सम्झौता भएको थियो।

पाइपलाईन निर्माणको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गरेका थिए। तर, २०७४ पुसमा मात्र भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थाल्यो। १८ महिनापछि असारमा पाइपलाइन निर्माण सम्पन्न भएको छ। नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थको ढुवानी हुने यो पहिलो परियोजना हो।

पाइपलाइनको औपचारिक उद्घाटन भएपछि मात्र पाइपलाइनमार्फत डिजलको नियमित आपुर्ति हुने छ। सम्झौंताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण गरेको थियो। निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो। 

प्रतिक्रिया दिनुहोस्