पाइपबाट यसरी खस्यो ३१ लाख लिटर डिजेल



अमलेखगन्ज (बारा) : नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भित्र्याउन गरिएको परीक्षण शुक्रबार सफल भएको हो। भारतको पटनाबाट मोतीहारी हुँदै अमलेखगन्ज डिपोमा ३१ लाख लिटर डिजेल झारिएको छ।

नेपाल र भारत दुवै देशका प्राविधिकले बुधबारदेखि पाइपलाइन परीक्षण थालेका थिए। शुक्रबार बिहान ६ बजे पाइपबाट डिजेल अमलेखगन्जसम्म ल्याइएको हो। पाइप जाँच गरी सफा गरेर डिजेल ल्याइएको नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। ‘सुरुमा पाइप लिकेज छ कि छैन भनेर हावा र पानी पठाएर जाँच गर्‍यौं’, पेट्रोलियम पाइपलाइन आयोजना प्रमुखसमेत रहेका यादवले भने, ‘त्यसपछि डिजेल ल्याएका हौं।’

उनका अनुसार बुधबार साँझ ६ बजे हावा, राति २:३० मा पानी र शुक्रबार बिहान ६ बजे डिजेल ल्याइएको हो। पटनाबाट बुधबार दिउँसो हावा र पानीको प्रेसर दिएर पाइपको अवस्था जाँचिएको थियो। पटनाबाट अमलेखगन्जसम्मको दूरी २ सय ५९ किलोमिटर छ।

पाइपबाट आएको डिजेल ल्याब परीक्षण गरी प्राविधिकले ट्यांकीमा भण्डार गरेका छन्। ‘पानीपछि आएको डिजेललाई परीक्षण गरेर ट्यांकरमा भण्डार गरेका छौं’, इन्जिनियर प्रमेश थापाले भने, ‘पानी मिसावट भएको केही डिजेल सुरक्षित स्थानमा फाल्यौं।’ भारतको पटना डिपो प्रमुख एसके नन्दीको नेतृत्वमा २० प्राविधिक र नेपाल आयल निगमका प्राविधिकसहित कर्मचारी परीक्षणमा खटिएका थिए।

नेपालले पहिलो चरणमा इन्डियन आयल कर्पोरेसनबाट ३१ लाख लिटर डिजेल ल्याएको छ। आयोजना प्रमुख यादवका अनुसार त्यसमध्ये १० लाख लिटर ट्यांकरमा भण्डारण गरिएको छ। २१ लाख लिटर डिजेल पाइपमै छ।

डिजेल आयात गर्न भन्सारबाट स्वीकृति लिइएको थियो। ‘भन्सार क्लियरेन्स गरिएको डिजेल पाइपबाट ल्याएका हौं। १० लाख लिटर हामीले ट्यांकरमा राख्यौं। बाँकी तेल पाइपमै राखेका छौं’, उनले भने, ‘अब औपचारिक उद्घाटन गरी पाइपलाइनबाट डिजेल ल्याउने कामलाई निरन्तरता दिनेछौं।’ अन्नपूर्ण पाेस्टबाट ।

प्रतिक्रिया दिनुहोस्