अव्यवहारिक कर फिर्ता नलिए सरकारविरुद्ध संघर्ष गर्छौ : अध्यक्ष ललित साह 



जनकपुरधाम : सरकारले चालू आर्थिक वर्षदेखी ल्याउने कर नीतिको विरोध गर्दै जनकपुरमा र्याली निकालिएको छ । जनकपुरमा व्यापारीहरुको छाता संगठनले आज (शबिवार) विरोध र्याली निकालेको हो । 

जनकपुर उद्योग वाणिज्य संघको कार्यालय, शिव चौकबाट निकालेको र्याली अहिले जनकपुरको विभिन्न भागको परिक्रमा गरेको छ । 

सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले विरोध गरेका छन् ।

आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशिल बनाउनुको साटो ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारी नेताहरुको आरोप छ ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले सरकारले साउनदेखि लागू हुने गरी ल्याएको कर नीति संशोधन नगरे वा व्यावारीको माग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘कर नीति संशोधन नगरे वा व्यापरीको माग सम्बोधन नभए कडा र चरणवद्ध सघर्षको कार्यक्रम सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलन गर्छौ ।’

श्रावण १ गतेदेखि लागू हुने गरी ल्याउन लागिएको नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गर्न नेपाल सरकारसँग माग गर्दै प्रदर्शन गरिएको छ यसअघि व्यापार संघले जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायतको स्थानमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्