पार्टी नेतृत्वको स्वार्थ पूरा गर्न दुई जुम्ली महिलाको टिकट खोसियो



जुम्ला । नेकपा माओवादी केन्द्रले हिमा गाउँपालिकाको उपाध्यक्षको लागि बिनसा रोकायालाई टिकट दिएको थियो । टिकट पाएको चर्चासँगै सामाजिक संजालमार्फत बधाई दिनेको ओहिरो लाग्यो । रेडियो, टेलिभिजन, पत्रपत्रिका समेत उनको बारेमा समाचार छापिए । रोकाया पनि १२ वैशाखमा मनोनयन दर्ता गराउने तयारीमा जुटिसकेकी थिइन ।

तर, मनोनयन दार्ता गर्न निर्वाचन कार्यालय आउँदा हिमा गाउँपालिकाको उपाध्यक्षको लागि कल्पना परियारको मनोनयन दार्ता भइसकेको रहेछ । परियारको हातमा पनि उपाध्यक्षको टिकट पुगेपछि रोकाया अन्योलमा परिन् । उनी अहिले पनि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीको नाम र छाप भएको सिफारिस पत्र बोकेरै हिडिरहेकी छिन् ।

परियारले उपाध्यक्षमा मनोनयन गरेपछि माओवाादीभित्र विवाद चर्कियो । टिकट हातमा बोकेर रोकायाले बागी उम्मेवारी दिइन् । त्यसलगत्तै हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच १४ वैशाखमा झड्प भयो । झडपमा परी एक जना घाइते समेत भए ।

उपाध्यक्षको टिकटलाई लिएर बागी उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको थियो । नेकपा माओवादी केन्द्रको जिल्लाबाट दुई जनाको नाममा टिकट पठाएपछि दुई पक्षबीच झडप भएको हो ।

कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र विनसा रोकायाको नाम पछि आएकाले उम्मेदवारी रोकिएको निर्वाचन अधिकृत ऋतु राईले बताइन् । यसपछि रोकायाले पार्टीको नभएर स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । झडपमा ढुंगा प्रहारबाट हिमा गाउँपालिका–६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिए पनि स्थानीय तहमा कल्पनाले उम्मेदवारी दर्ता गराइसकेकाले समस्या भएको बताए । उनले अब समाधान गरिनु पर्ने बताए ।

नेकपा माओवादी केन्द्रले ०७४ सालको स्थानीय तह निर्वाचनमा जुम्लामा अध्यक्षसहित धेरै पद जितेको थियो । यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ । यसले गर्दा माओवादी केन्द्रलाई हिमा गाउँपालिकामा विजय हात पार्न चुनौती देखिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले चन्दननाथ नगरपालिकाको मेयर पदमा जयलक्ष्मी चौलाइलाई टिकट दिएको थियो । यस्तै, उपमेयरमा भिम थापालाई सिफारिस गरेको थियो । तर, मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजुसिहं कठायतलाई गठबन्धनले समर्थन गरेपछि जयलक्ष्मी चौलागाईलाई उम्मेदवारी फिर्ता लनि लागाइएको थियो ।
जहाँ हार्ने निश्चित छ त्यहाँ मात्रै महिलालाई टिकट दिने गरेको उनको आरोप छ । दलको नेतृत्वमा बसेकाहरूको स्वार्थ पूरा हुने देखिए उम्मेदवारी फिर्ता गर्न लागाइने गरेको उनले बताइन । जसले गर्दा राजनीतिमा महिला सहभागिता न्यून बनेको छ । राज्यले नै व्यवस्था गरेको ३३ प्रतिशत सहभागिता पनि कागजमै सिमित छ ।

प्रतिक्रिया दिनुहोस्