काठमाडौं : अल्जेरियाले २९ वर्षपछि अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। शुक्रबार राति कायरोमा भएको फाइनलमा सेनेगलविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै अल्जेरियाले उपाधि उचालेको हो।
अल्जेरियाको जितमा खेलको दोस्रो मिनेटमा बग्दाद बोएनेजाले गरेको गोल निर्णायक बन्यो। खेलको सुरुवाती अवस्थामा सेनेगलका सालिफ सानेको गल्तीलाई उपयोग गर्न बग्दादले गरेको गोलले नै अल्जेरियालाई च्याम्पियन बनायो।
जितसँगै अल्जेरीयाले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सफल भयो। सेनेगलको भने अफ्रिका कपको उपाधि जित्ने ६० वर्षयताको सपना पूरा भएन्।
खेलको दोस्रो हाफमा सेनेगलले पेनाल्टी पाएको थियो। तर, भीएआर रिभ्यूमा हातले बलमा नछोएको देखिएपछि पेनाल्टी फिर्ता भयो। पेनाल्टी फिर्ता हुनु नै सेनेगलकालागि दुर्भाग्यपूर्ण बन्यो।
खेल अवधिमा आक्रामक देखिएको सेनेगलललाई अल्जेरियाको रक्षापंक्तीले रोकेको थियो। सन् १९९० पनि उसले उपाधि जितेको थियो। २९ वर्षपछि अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले हत्याउँदा सेनेगलका खेलाडी मैदानमै रोएका थिए।