औषधीसहित रौतहट पुगे डा. गोविन्द केसी, बाढी पीडितको स्वास्थ्य जाँच हुँदै



रौतहट : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी प्रदेश २ को जिल्ला रौतहट पुगेका छन् । केसी बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका हुन् ।

शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका डा. केसीले विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् । उनलाई स्थानीय स्वास्थ्यकर्मीहरुले सहयोग गरिरहेका छन् ।

unn.prixa.net

स्वास्थ्य चौकीमा आएका एक दर्जन भन्दाबढी स्थानीयमा झाडापखाला लागेको पाइएको उनले बताए । ‘पानी पूरै प्रदूषित छ । स्थानियवासीमा झाडापखालाको लक्षण देखा परेको छ’ डा. केसीले भने, ‘शौचालयहरु अव्यवस्थित छ । खानेपानीका मुहानहरु प्रदूषित छ, अहिले नै सचेत भइएन भने महामारी फैलिन्छ ।’

बाढीबाट प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको उनले बताए ।

उता बाढी आएको नौ दिन बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छैन । 

अकस्मात बन्जरहा आइपुगेका डा. केसीको स्वास्थ्य शिविरमा स्थानीयको बाक्लो उपस्थिति देखिएको छ । 

बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस् भन्ने उद्देश्यबाट आफू रौतहट आएको डा. केसीले बताए । उनले शुक्रबार मात्र १ सय ४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्