प्रचारका शैली- जञ्जालबाट सञ्जालतर्फ



काठमाडौं । कुनै समय निर्वाचन प्रचारको माध्यम माइकिङ, पोस्टरिङ र आमसभा थिए । उम्मेदवारहरू मतदाताको घरघर पुग्थे, आफूलाई जिताउन भोट माग्थे । तर, अहिले भोट माग्ने शैली फेरिएको छ । प्रविधिको विकाससँगै जन्मिएको सामाजिक सञ्जालले उम्मेदवारलाई भोट माग्न सहज बनाइदिएको छ।

अहिले निर्वाचनको प्रचारप्रसारसँगै मतदातासँग नजिकिन उम्मेदवारहरूले फेसबुक,ट्वीटर, इन्स्टाग्राम, युट्युब, भाइबर, स्न्यापच्याट जस्ता सामाजिक सञ्जालको सहारा लिइरहेका छन्। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका चिरीबाबु महर्जन भोट माग्न व्यस्त छन् । उनी घरदैलोसँगै सामाजिक सञ्जालबाट पनि भोट मागिरहेका छन्। ‘हामीले अहिलेको प्रविधिलाई प्रयोग गरेका हौँ।

घरदैलोसँगै सामाजिक सञ्जालको पनि प्रयोग गरेका छौँ’, चिरीबाबु भन्छन्, ‘कहिलेकाहीँ जनताको घरदैलोसम्म पुग्न नसेको अवस्थामा हाम्रा कुराहरू सामाजिक सञ्जालमार्फत पुगिरहेका हुन्छन्। यो माध्यम निर्वाचनको समयमा एकदमै प्रभावकारी बनेको छ।’ चिरीबाबुको अनुभवमा सामाजिक सञ्जालले मतदातालाई आफ्नो राय राख्ने मौका पनि दिएको छ, जसका कारण उनीहरू कुन उम्मेदवारलाई भोट दिने भन्नेबारेमा सचेत छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका  र्‍यापर बालेन शाह केही समययतादेखि सामाजिक सञ्जालमा उत्तिकै छाइरहेका छन् ।

साङ्गीतिक क्षेत्रमा लोकप्रिय  र्‍यापर राजनीतिमा पनि लोकप्रिय बन्न उनी मतदाताको घरदैलोसँगै सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार अभियानमा खटिरहेका छन् । ‘कोभिडका कारण मानिसहरू पोस्टर प्रयोग गर्न डराएपछि हामीले सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकतामा राखेका हौँ। घरघरमा पुगेर भोट मागे पनि सबै ठाउँमा पुग्न सकिँदैन’, बालेनको बुझाइ छ, ‘सामाजिक सञ्जालबाट भोट माग्दा मतदाताले उम्मेदवारलाई चिन्छन्।

भिडियोमा उम्मेदवार र निर्वाचन चिह्न देखेपछि मतदातालाई निर्वाचनमा मतदान गर्न पनि सजिलो हुन्छ।’ भिडियोमार्फत उम्मेदवारले जनाएका प्रतिबद्धता तथा कुराहरूलाई जनताले बुझ्ने बालनको भनाइ छ। ‘निर्वाचन प्रचारको भिडियोले मतदाताको मनोविज्ञानलाई बुझ्न सजिलो भएको छ’, बालेन भन्छन्। बालेनले आफूहरूको प्रचार ‘अग्र्यानिक’ भएको दाबी गरे।

ठूला दलहरूले सामाजिक सञ्जालमा प्रचार सामग्रीलाई ‘बुस्ट’ गर्ने गरेको पाइए पनि आफूहरूले भने ‘बुस्ट’ नगरेको उनको दाबी छ। सामाजिक सञ्जालमा उम्मेदवार र उनीहरूको निर्वाचन क्षेत्रको नाम राखेर ‘जिताऔँ अभियान’ पेज बनाउने क्रम केही समययता तीब्र रूपमा चलिरहेको छ । ती पेजहरूलाई नियाल्ने हो भने विभिन्न पार्टीका कार्यकर्ताहरू आफ्ना उम्मेदवारलाई भोट माग्नेदेखि लिएर नाचगान गर्नमा व्यस्त देखिन्छन्।

अझ युवा कार्यकर्ताहरू मोटरसाइकलमा पार्टीका झन्डा राखेर भोट माग्न लागिपरेका छन्। विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले चुनावी र्‍यालीमा गरेका भाषणका क्लिपहरूलाई सम्बन्धित पार्टीको फेसबुक पेजमा राखेर प्रचारलाई तीब्रता दिइरहेका छन् । एमालेका सचिव योगेश भट्टराई सामाजिक सञ्जालले निर्वाचन प्रचारप्रसारलाई छरितो बनाएको बताउँछन्। ‘पहिले जस्तो माइकिङ, पोस्टरिङ गर्नुपर्दैन। सामाजिक सञ्जालको माध्यमबाट आफ्ना कुराहरू मतदातामाझ पुर्‍याउन सजिलो हुन्छ।

धेरै मानिसहरूमा सामाजिक सञ्जालको पहुँच छ’, योगेश भन्छन्। योगेशको बुझाइमा युवापुस्तादेखि सबै वर्गका मानिसहरूको हातमा स्मार्ट फोन रहेकाले पनि उनीहरूलाई सामाजिक सञ्जाल प्रयोगमा सजिलो भएको छ। ‘मानिसहरू कहीँ न कहीँ जोडिएका छन्। त्यस कारण जहाँ मान्छे बढी जोडिएका हुन्छन्, उम्मेदवार पनि त्यहीँ जाने हो। सामाजिक सञ्जाल खर्च कम हुन्छ। भर्चुअल्ली भए पनि मतदातासँग अन्तक्र्रिया हुन्छ। आफ्ना कुराहरू जनमानसमा पुग्छन् । श्रम र जनशक्ति कम लाग्छ’, उनी भन्छन् ।
भिडियो प्रतियोगिता
चुनावी प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रभावकारिता कतिसम्म छ भन्ने थाहा पाउन निर्वाचन आयोगले आइतबार जारी गरेको ‘निर्वाचनको सन्देशमूलक भिडियो सन्देश प्रचार गर्ने प्रतियोगितासम्बन्धी’ सूचनालाई हेरे पुग्छ। आयोगले निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियो प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने सूचना सार्वजनिक गरिसकेको छ।

उसले ३० वैशाखमा हुने स्थानीय निकायको निर्वाचनका लागि आयोगले बनाएका सन्देशमूलक भिडियोहरू ट्वीटर, युट्युब, फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जालमा अपलोड गरिएको जनाउँदै यी भिडियोलाई टिकटकमा वा पहिलेकै स्वरूपमा २९ वैशाखभित्र फेसबुक, युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा पोस्ट र शेयर गर्न भनेको छ। आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार, ३० लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार रुपैययाँ पुरस्कार दिने घोषणा गरेको छ ।

गत महिना नेकपा एमाले निकट युवा संघ र साइबर सर्कलले पार्टीप्रति माहोल बनाउन टिकटक प्रतियोगिताको आयोजना गर्ने घोषणा नै गर्‍यो । सर्कलले नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा प्रथमले १ लाख, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार पाउने बताइएको थियो ।

भिडियो २१ चैतदेखि ३० वैशाख २०७९ सम्म अपलोड गरिसक्नुपर्ने, भिडियो व्यक्तिगत रूपमा बनाउनुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने र त्यसको समयावधि २ मिनेटको हुनुपर्ने प्रावधान राखेको थियो ।

गीत र भिडियो
सामाजिक सञ्जालबाहेक राजनीतिक दलले युट्युबमार्फत प्रचारप्रसारलाई उत्तिकै तीब्रता दिइरहेका छन् । आफ्ना भ्रातृ संस्थाले बनाएका चुनावी सामग्रीलाई युट्युबमा राखेर त्यसलाई सामाजिक सञ्जालमा नियमित रूपमा शेयर गरिरहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) प्रमुख रूपमा गीत र भिडियो बनाई सामाजिक सञ्जालमार्फत जनमानससम्म पुर्‍याउन सक्रिय छन् ।

लाइभमा पनि उस्तै क्रेज
एमाले केन्द्रीय कार्यालय च्यासलमा हरेक दिन नेताहरू फेसबुक लाइभ बस्छन् । आफ्ना एजेन्डा जनतामाझ पु¥याउन एमालेले पार्टीको आधिकारिक फेसबुक पेजबाट नेताहरूसँग लाइभ अन्तर्वार्ता लिइरहेको छ ।

नेकपा एमाले निकटका पत्रकारहरूले यसमा सहजीकरण गरिरहेका छन् । उता, कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालेसमेत स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन सामाजिक सञ्जालको भरपूर प्रयोग गरेका छन्।

गीतमा उम्मेदवार कम, नेता बढी
सामाजिक सञ्जालबाट बुस्ट गरेर दलहरूले चुनावी प्रचार गीत जनतामाझ पुर्‍याइरहेका छन् । चर्चित गायक र कलाकार प्रयोग गरेर बनाइएका यस्ता गीतको मुख्य भ्युअर्स भने सम्बन्धित दलका नेता मात्र देखिन्छन् । एमाले गीत बनाउने अभियानमा एक नम्बरमा देखिन्छ तर उसका सबै गीतमा अध्यक्ष केपी ओलीलाई मात्र फोकस गरेर देखाइएको छ।

कांग्रेस र माओवादीले बनाएका गीतमा समेत आफ्ना पार्टीका अध्यक्ष क्रमशः शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मात्र फोकस गरेर देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्