धनुषाको झोझीमा हुर्रा हुर्री पर्वको रौनक



जनकपुरधाम : यति बेला धनुषाको झोझी–कटैयामा हुर्रा हुर्रि पर्वको रौनक छ । हुर्रा हुर्री मनाउन चाहिने सुँगुर किनेपछि यसको रौनक बढेको हो । अहिले यो पर्वका लागि चाहिने गाई–गोरु जम्मा पार्ने काम भइरहेको छ । 

यो पर्वमा एउटा गाई अथवा गोरुको घाँटीमा सुँगुरलाई बाँध्ने र गाई –गोरुले त्यसलाई हानेको हेरेर रमाइलो लिने गरिन्छ । यो क्रम सुँगुरलाई नमारेसम्म जारी रहने स्थानीयले बताएका छन् । यही कारण कतिपयले यो पर्वलाई क्रूर पर्वका रुपमा लिने गरेका छन् । 

यसरी गाई–गोरुको आक्रमणबाट सुँगुरको मृत्यु भइसकेपछि गाउँमा कुस्ती खेल्ने परम्परा छ । 

हुर्रा हुर्री पुर्खाहरुले मनाउन सुरु गरेको पर्व भएकाले यसलाई निरन्तरता दिएको मेलाका संयोजक पल्टन यादवले बताए । प्राध्यापक परमेश्वर कापडीका अनुसार जनावरहरुले धान बाली नाश गर्ने भएकाले समस्या समाधान गर्ने प्रतीकका रुपमा जनावर मारेर यो पर्व मनाउन सुरु गरिएको हो । 

हरेक वर्ष मनाइने यो पर्वमा स्थानीयको उल्लेख्य सहभागिता रहने गरेको छ । यो पर्व हेर्न विभिन्न गाउँबाट समेत स्थानीय आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्