विजय कुमार गच्छदार सम्पर्कविहीन, अख्तियार र सिआईबी खोज्दै !



काठमाडौं : बालुवाटर जग्गा प्रकरणमा मुछिएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजय कुमार गच्छदार सम्पर्कविहीन भएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सबै जिम्मेवार व्यक्तिसँग बयान लिन सुरु गरेलगत्तै गच्छदार सम्पर्कविहीन भएका हुन् । 

२०६६ मा सरकारले बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने गरी निर्णय गर्दा उपप्रधानमन्त्री रहेका गच्छदारले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रश्न उठाएको थियो । 

बयानका लागि दुवै निकायले बोलाएपछि गच्छदार सम्पर्कमा आएका छैनन् । यसका लागि उनलाई दुवै निकायले खोजिरहेको छ । गत असार १५ गते गच्छादार भारत गएका थिए । उतैबाट उनी अमेरिका गएको स्रोतले जनाएको छ । 

यस्ता बयानका लागि अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ । 

गच्छदारले बयान टार्न खोजेको भन्दै अख्तियारले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको स्रोतले जनाएको । बयानका लागि बोलाउने तयारी गरेलगत्तै गच्छदारले नेपाल छाडेको अख्तियार स्रोतले जनाएको छ । 

यता बालुवाटार जग्गा प्रकरणमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) समेत गच्छदारसँग बयान लिने तयारीमा रहेको स्रोतले जनाएको छ । 

बालुवाटार जग्गा प्रकरणबारे सरकारले सिआइबीलाई छानविन गर्न निर्देशन दिएको छ । सिआइबीले बालुवाटार जग्गा हिनामिनाको प्रतिवेदन दिन एक महिनामात्र बाँकी हुँदा गच्छदारसँग बयाना लिने तयारी गरेको हो । तर, उनी सम्पर्कविहीन छन् ।   

२९ चैत ०६६ को मन्त्रिपरिषद् बैठकले नक्कली मोही खडा गरेर बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको थियो । उक्त निर्णयका आधारमा करिब १४ रोपनी जग्गा १२ जना नक्कली मोहीका नाममा लगिएको थियो । यसको प्रस्ताव अघि बढाउने विभागीय जवाफदेहीता रहने आधारमा गच्छदारसँग अख्तियार र सिआईबीले बयान लिन खोजेको हो ।

 

प्रतिक्रिया दिनुहोस्