उपत्यकाका नदी तथा चक्रपथ सफाइ, ३५ मेट्रिक टन फाेहाेर व्यवस्थापन



काठमाडौँ : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । 

 

वाग्मती सफाइ महाअभियानको २८०औँ हप्तामा कोटेश्वर महादेवस्थान पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २५ संस्थाका ५१० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो । 

 

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् । सफाइमा प्रदेशसभा सदस्य गणेश दुलाल, म्यानमारका लागि पूर्व नेपाली राजदूत भिक्ट्रीशम्शेर राणा, सशस्त्र प्रहरी महिला परिवारकी अध्यक्ष सरिता खनाल कँडेल, महानगरपालिकाको वडा नं ३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । 

 

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २४१औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेशवरी महादेव मन्दिर परिसरमा गरियो । नगरपालिकाको वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेलको संयोजनमा भएको सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत जनप्रतिनिधिको सहभागिता थियो । 

 

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने फोहर त्यहीँ गाडियो । नकुहिने फोहर खाडल खनेर गाडिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाको पनि सक्रियता थियो । 

 

रुद्रमती सफाइको २३५औँ हप्तामा रातोपुलबाट भण्डारखाल क्षेत्रसम्म सफाइ गरियो । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिए । 

अर्काे हप्तादेखि शुक्रबार बेलुकी जनचेतनामूलक अभियानसहित फोहर नगर्न सफाइमा उपस्थित हुन आह्वान गर्दै दुई घण्टे कार्यक्रम गरिने उनले जानकारी दिए नुभयो । विष्णुमती सफाइको २०७औँ हप्तामा आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका वडा नं ५ स्थित विष्णुमती पुलमा सफाइ गरियो । सफाइमा तीन सुरक्षा निकाय, वडा नं ५ का अध्यक्ष विजय लामासहित ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

 

विष्णुमतीको घाट एवं सत्तलमा गरिएको सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्