हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने



काठमाडौं : हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ। बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो।

काठमाडौं–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। उनले पर्यटकीय सम्भावना बोकेको गन्तव्य बङ्गलादेशमा आफ्नो सञ्जाल विस्तार गर्न पाएकामा निकै उत्साहित भएको उल्लेख गरे।

हिमालयको तालिकाअनुसार एचनाइन ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। सोही दिनको ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २ः१० मा उडान गरी काठमाडौँमा दिउँसो ३ः२० मा अवतरण हुनेछ।

उक्त एयरलाइन्सले १५० इकोनोमी क्लास र आठ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानबाट ढाका उडान गर्नेछ। दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्