पत्रकार सम्मेलनमा ट्रम्प आक्रोशित, सिएनएन पत्रकारको मान्यता रद्द



 

एजेन्सी :  राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा प्रश्न सोध्ने केबल न्युज नेटवर्क (सिएनएन) का ह्वाइट हाउस संवाददाताको मान्यता राष्ट्रपति कार्यालयले रद्द गरिदिएको छ। यो फैसला राष्ट्रपति ट्रम्पको निर्देशन भएको हो।

 

बुधबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा सरकारी कर्मचारीले सिएनएन संवाददाता जिम एकोस्टासँग माइक खोस्ने प्रयास गरेका थिए। सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

 

सो पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘सिएनएन पत्रकार पत्रकार असभ्य छन् र रुखो छन्।’ ट्रम्प प्रेस सचिव सारा स्यान्डर्सले एक महिलालाई दुर्व्यवहार गरेका कारण सिएनएन संवाददाता जिम एकोस्टाको मान्यता रद्द गरिएको बताइन् ।

 

के भएको थियो पत्रकार सम्मेलनमा ? 

पत्रकार सम्मेलनमा जिम एकोस्टाले अमेरिकी राष्ट्रपतिसँग मेक्सिकन शरणार्थी एवं मेक्सिकन आप्रवासीबारे प्रश्न गर्न चाहेका थिए। तर प्रश्न पूरा हुन नपाउँदै ट्रम्प छेउमा रहेकी एक महिलाले उनको हातबाट माइक खोस्ने प्रयास गरिन्। त्यति नै बेला राष्ट्रपति ट्रम्प बोले, ‘धेरै भयो, धेरै भयो। बस् यसलाई रोक। माइक तल राख।’

 

यसपछि डोनाल्ड ट्रम्पले भने, ‘सिएनएनले आफैँसँग लज्जित हुनुपर्ने हो। जुन किसिमको व्यवहार तिमीले स्यान्डर्सको टोली सदस्यसँग गर्यो त्यो निन्दनीय छ।’

 

ट्रम्पकी प्रेस सचिव सारा स्यान्डर्सले यसबारे ह्वाइट हाउसको आधिकारिक बयान ट्विटरमा पोष्ट गरेकी छिन्। ‘राष्ट्रपति ट्रम्प स्वतन्त्र प्रेसमा विश्वास गर्छन्। उनी कडा प्रश्नका पनि सामना गर्छन्। तर उनी आफ्नो काम गरिरहेकी एक युवा महिलालाई दुव्र्यवहार गर्ने कुनै संवाददाता सहन सक्दैनन्’, उनले भनेकी छिन्।

 

सिएनएन पत्रकार जिम एकोस्टाले आफूलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएको घटनाको पुष्टि गर्दै ट्विट गरेका छन्। सिएनएनले पनि यो मुद्दबारे बयान सार्वजनिक गरेको छ। ‘कडा प्रश्न सोधका कारण सिएनएन पत्रकारको मान्यता रद्द गरिएको हो’, सिएनएनले भनेको छ।

 

सिएनएनले राष्ट्रपति प्रेस सचिव सारा स्यान्डर्सले झुटो बोलेको भन्दै त्यसको खण्डन गरेको छ। ह्वाइट हाउस कभर गर्ने संवाददाताहरुको एक समितिले ट्रम्प प्रशासनको यो निर्णयको भर्त्सना गर्दै भनेको छ, ‘यो पत्रकारहरुका लागि सैह्य हुने छैन।’ समितिले ह्वाइट हाउसलाई आफ्नो निर्णय फिर्ता लिन समेत आग्रह गरेको छ।

 

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्