सरकारको नजर बाढी पीडितमाथि ! फुलवरिया र मल्हनियाका बासिन्दा राहतको पर्खाइमा 



जनकपुरधाम : कमला नदीमा गत साता गएको बाढीले पूर्वी क्षेत्र बढी प्रभावित भएको छ । बाढीले धनुषाको पूर्वी क्षेत्रमा पर्ने फुलवरिया र मल्हनिया बढी प्रभावित भएको हो ।  

अविरल वर्षासँगै आएको बाढीले धनुषाको पूर्वी क्षेत्रमा पर्ने फुलवरिया र मल्हनियाबीच सम्पर्क टुटेको छ । मल्हनियादेखी उत्तर र फुलवरियादेखि दक्षिण कमलाको बाध (छडकी) दुई सय मिटरसम्म बाढीले बगाउँदा दुई वडाबीच सम्पर्क टुटेको छ ।

बाध (छडकी) बाढीले बगाउँदा स्थानीयहरु ३ देखी ४ फिटसम्म पानी तरेर गन्तव्यसम्म पुग्ने गरेका छन् । 

जनकनन्दनी गाउँपालिका १ को इनरवा, फुलवरिया र मल्हनियाका सयौं व्यक्तिहरु अझै प्रभावित छ । त्यहाँ कुनै पनि सवारी साधान पुग्न सकेको छैन भने स्थानीय जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । 

‘यस्तो बेलामा पनि हाम्रो अवस्था बुझ्न अझै कुनै सरकार त कुनै निकायसम्म आएको छैन ।’ स्थानीय चन्देश्वर यादव भन्छन्, ‘गाउँबाट न सिरहा जाने बाटो छ न जयनगर । घरायसी सामान किन्न पनि चार फिट पानी तर्नुपर्छ ।’

उनले मुख न्याउरो बनाउँदै भने, ‘धनुषाको कमला छेउमा चार विघा जमिन समेत डुबानमा पर्यो । खेतमा लगाएको धानको बीउ पनि बर्बाद भयो । त्यस ठाउँमा अहिले बीउको साटो ढुंगा र बालुवा छ ।’

जनकनन्दनी गाउपालिका ६ कठाली निवासी ५० वर्षीय रामेश्वर ठाकुरका पीडा झन छुट्टै छ । उनले भने, ‘म पत्नीसँगै डुबानमा परेको खेत हेर्न छु । हाम्रो अवस्था बुझ्न न कुनै नेता आएका छन् न त कुनै प्रतिनिधि नै ।’

‘प्रहरीले ६० देखि ६५ घर बाढीले पूर्णरुपमा क्षति भएका तथ्यांक निकालेको छ । तर, हप्ता दिनभन्दा बढी भइसक्दा पनि न प्रहरी आयो न राहत नै आयो’ उनले आक्रोश हुँदै भने ।  

जनकनन्दनी १ इनरवा, फुलवरिया र मलन्हियालगायत बस्ती अझै गरिबिको रेखा मुनि छ । 

स्थानीयका अनुसार कमला नगरपालिका ९ कमला नदीले बरेरवामा बढी क्षति पुगेको छ । 

स्थानीय ४८ वर्षीय अमोद मडिक यादव भन्छन्, ‘२ सय बीघा जमिन नै बाढीले बगायो ।  खेत भरी बालुवा, गिटी र ढुङ्गामात्र छ ।’ 

‘इनरवा र मल्हनियाको सडकमा अझै पानी र हिलो जमेको छ । हिड्ने ठाउँ छैन ।’ अमोदले भने, ‘बाढीको प्रकोपले सबैभन्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।’

उनले यस क्षेत्रको मुख्य बजार सिरहा जोड्ने हुलाकी सडक पनि ४ स्थानमा भत्किएको छ  यसले गर्दा आवतजावतमा समस्या भएको बताए । 

एक प्रश्नमा स्थानीय जनकनन्दनी १ का ३९ वर्षीय फुलबारिया बस्ने जगदेव यादव भन्छन्, ‘स्थानीय सरकार बने पनि टोलमा कुनै विकास भएको छैन । सडक ग्रेवल गर्ने कुरा त परको हो । आजसम्म माटो त हालिएको छैन । अझै पिचको त कुरा नगरौं । वर्षा भएपछि  सडक हिडिनसक्नु हुन्छ ।’

उता स्थानीय प्रशासनले भने राहत पुगेको दाबी गर्दै आएको छ । तर, प्रशासनले दाबी गरे अनुसार राहत सामग्री लिएर कोइ नआएको स्थानीयले बताउछन् ।  

‘प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिको एक टोलीले धनुषाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै छन् भन्ने आफुहरु रेडियो मात्र सुनेका छौं । तर, यहाँ कोइ नेता अझैसम्म आएका छैनन्’ आक्रोश हुँदै स्थानीय अमोद मणिकले भने । 

बाढीबाट पीडित भएका स्थानीयले तत्काल हुलाकी सडक बनाइदिनु पर्ने बताएका छन् । 

राहत सामग्री बास्तविक पीडितसम्म आइपुग्नु पर्ने बताउँदै आफूहरुलाई गास, बाँस र कपासको तत्काल व्यवस्था गर्न पीडित परिवारले सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्