सामूहिक निर्णयबाट भाग्दै एन्फा नेतृत्व, कार्यसमितिलाई थाहै नदिई छानबिन समिति



  •  एकल समितिको निर्णय अमान्यः एन्फा उपाध्यक्ष खड्का
  •  वित्तिय विवाद छानविन गर्न आलटाल
  • अलमुताइरी–नेम्बाङ छानबिन प्रतिवेदन अझै गुपचुप

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडी र प्रशिक्षकबीचको विवाद समाधान गर्न नसकेपछि पूर्वउपरथी भिक्टरशम्शेर जबरालाई जिम्मा दिएको छ ।
जबरालाई विवाद समाधानको अधिकार दिएको एन्फाले उनलाई कमिटीलाई १० दिनभित्र विवादको चुरो पत्ता लगाएर समाधान गर्ने गरी अधिकार प्रत्यायोजन गरेको हो ।
एन्फा केन्द्रीय कार्यसमितिका अधिकांश सदस्यले बैठक डाकेर समस्या समाधान गर्न दिएको दबाबलाई बेवास्ता गर्दै अध्यक्ष कर्माछिरिङ शेर्पाले एकल निर्णयमार्फत एक जना व्यक्तिलाई समाधान खोज्ने जिम्मा दिएका हुन् ।
एन्फा उपाध्यक्ष वीरबहादुर खड्का जबराको एकल समितिले गरेको निर्णय अमान्य हुने बताउँछन् । खड्का भन्छन्, ‘देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषयमा अध्यक्षले एक जनालाई छानबिन गर्न दिएका छन्, यसको कुनै अर्थ छैन । कार्यसमितिको निर्णयबाट ३ देखि ५ जना सदस्य रहने गरी समिति बनाउनुपर्छ ।’

विवादमा परेको फुटबल राष्ट्रिय टिममा सेनाका सहायक प्रशिक्षकदेखि धेरै खेलाडी भएका कारण सेनासँग सम्बन्धित व्यक्तिलाई यो जिम्मेवारी दिने निर्णय थप विवादास्पद हुने उनको भनाइ छ ।
पछिल्लो १ वर्षमा देखिएका हरेक विवादमा अध्यक्ष शेर्पा केन्द्रीय समितिको बैठकबाट भाग्ने र एकल निर्णय गर्न उद्यत देखिएका छन् । उनले गरेको धेरै निर्णयलाई कार्यसमितिले उल्ट्याएको समेत छ ।
कार्यसमितिलाई बेवास्ता गर्दै फुटबल विवादलाई बाहिर लैजाने क्रमको सुरुवात गत वर्ष नै भएको थियो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पूर्वखेलाडीका बारेमा राखेको धारणामा वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्बाङले असहमति जनाएपछि उनीहरूबीच विवाद बढेको थियो ।
सो विवादमा पनि एन्फा कार्यसमिति सदस्यले अध्यक्ष शेर्पासँग छानबिन समितिको माग गरेका थिए । त्यसबेला पनि अल्मुताइरीले नेपालका पूर्व राष्ट्रिय खेलाडीको मानमर्दन गरेको ठहरसहित अधिकांश सदस्य नेम्बाङको पक्षमा उभिएका थिए ।
कार्यसमितिभित्र अल्पमतमा रहेका शेर्पाले तत्कालीन सदस्य सचिव रमेश सिलवाललाई केही दिनअघिमात्र एन्फाको सुविधामा इराक भ्रमण गराएका थिए ।
यसै कारण राखेपको निर्णय शेर्पाले चाहेजस्तै हुने अनुमान धेरैको थियो । राखेको छानबिन कमिटीको रिपोर्टमा अल्मुताइरीलाई सामाजिक सञ्जालमा कम सक्रिय हुन तथा विवादास्पद अभिव्यक्ति नदिन सचेत गराउने उल्लेख भए पनि एन्फाले यसलाई गुपचुप पारेको थियो ।
विवाद यतिमा सकिएको छैन । ३ महिनाअघि वित्तीय निर्देशक निरञ्जन शाहले भ्रष्टाचार गरेको भन्दै एन्फामा विवाद भएको थियो । अध्यक्ष शेर्पाले सो समयमा पनि बैठक बोलाउन आनाकानी गरे । चौतर्फी दबाबपछि मात्र उनले लामो समयपछि बैठक डाकेका थिए । बैठकले शाहले भ्रष्टाचार गरेको भन्दै निलम्बनको निर्णय गरेको थियो ।
एन्फा विवाद यतिमा सीमित छैन । गत फागुन–चैतमा आयोजना भएको एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट र ए डिभिजन क्लबबीचको विवादमा पनि एन्फा जोडिएको थियो ।
क्लबहरूले आफ्नो अनुमतिबिना नै खेलाडी अन्यत्र आबद्ध भए कानुनी बाटो रोज्ने चेतावनी दिइरहेकै समयमा एन्फाको ग्रिन सिग्नलमा एनएसएलको अक्सन भएको थियो । ए डिभिजन क्लब र एन्फाबीच यस विषयमा अझै सहमति भएको छैन ।
‘फिफाको मूल मान्यतालाई समेत बेवास्ता गर्दै क्लबलाई बेवास्ता गरिएको छ’, एनएसएल विवादबारे थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकार भन्छन् ।
अध्यक्ष शेर्पामाथि नेपालका ठूला कर्पोरेट हाउसको इच्छामा मूलधारका क्लबमाथि अन्याय गरेकोे आरोपसमेत लाग्दै आएको छ ।
यो विवादमा सबै क्लबले आफूअनुकूल निर्णय नभए खेलाडी सहभागी हुन नदिने तथा एन्फाले न्याय नगरे फिफासम्म आफ्नो कुरा राख्ने चेतावनी नै दिएका थिए ।
अहिलेको राष्ट्रिय टोलीका प्रभावकारी १० जना खेलाडीको स्थानमा बी र सी डिभिजन क्लबलाई समेत समेटेर अन्य १७ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
प्रशिक्षणमा बोलाइएका सबै खेलाडी यो निर्णयमा खुसी छैनन् । प्रशिक्षणमा बोलाइएका पूर्व राष्ट्रिय टिमका गोल रक्षक विकेश कुथुले पनि आफू क्याम्प छाड्ने खेलाडीको पक्षमा रहेकाले प्रशिक्षणमा सहभागी नहुने बताइसकेका छन् ।
राष्ट्रिय टोलीका प्रभावशाली मिडफिल्डर रोहित चन्दले होस्टेलको व्यवस्थापनमा समस्या भएको भन्दै आवाज उठाएपछि उनलाई टोलीबाट हटाइएको थियो । उनलाई साथ दिँदै अन्य ९ खेलाडीले पनि प्रशिक्षण छाडेपछि यो विवाद सतहमा आएको हो ।
विगत केही वर्षदेखि कार्यसमितिलाई बेवास्ता गर्दै अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधरले आफूखुसी निर्णय गरे पनि ती निर्णय उल्टिने गरेका थिए ।
केन्द्रीय समितिमा प्रवेश गर्ने कुनै पनि विषयमा अध्यक्ष र महासचिवविरुद्ध धेरै पदाधिकारी तथा सदस्य प्रस्तुत हुन थालेपछि शेर्पा पनि बारम्बार फुटबलबाहिरका व्यक्तिको शरणमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्