छोराद्वारा बुवाको हत्या, आमा गम्भीर घाइते  



धनगढी : कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रयोग गरी बुवाको हत्या गरेका हुन् । आक्रमणबाट आमा गम्भीर घाइते भएकी छन् ।

घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । 

बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेका छन् । आक्रमणबाट उनी गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्