ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ३७ सवारीसाधन कारबाहीमा



दैलेख: जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले आर्थिक वर्ष ०७५/७६ मा करिब ३० लाख राजश्व संकलन गरेको छ ।  जिल्लाका विभिन्न ठाउँमा संचालित सवारीसाधनलाई गरेको कारबाहीबाट २९ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो। 

धेरैजसो सवारीसाधनका कागजपत्र नवोकेका, क्षमताभन्दा बढी यात्रु बोकेका, बढी मालसामान ढुवानी गरेका, लाइसेन्स नभएका र ट्राफिक नियम पालना नगरेका सवारीलाई कारबाही  गरीएको ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक नन्दलाल जैसीले जानकारी दिए ।

गत आर्थिक वर्षमा कुल ५ हजार ३७ सवारीसाधन कारबाहीमा परेको कार्यालयले जनाएको छ। जसमध्ये बस ७ सय ८१, ट्रक १ हजार ३ सय ९५, टेक्टर ६ सय १६, मोटरसाइकल ६ सय ४२, जिपकार १ हजार ३ सय ६ र अटोरिक्सा २ सय ९७ वटा कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका बसबाट ४ लाख ६७ हजार ५ सय, ट्रकबाट ७ लाख ९९ हजार, टेक्टरबाट ३ लाख २५ हजार ५ सय, मोटरसाइकलबाट ३ लाख ७३ हजार, जिपकारबाट ८ लाख १ हजार र अटोरिक्साबाट १ लाख ७६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो।

गतवर्ष भन्दा ९ लाख ४२ हजार ६ सय रुपैयाँ बढी राजश्व संकलन भएको बुझिएको छ। उनका अनुसार गतवर्ष जिल्लामा ३५ वटा सवारीसाधन दुर्घटना भएका छन् भने दुर्घटनामा परी २१ जनाको मृत्यु भएको र ९० जना घाइतेमध्ये ६ जना बालबालिका छन्।

प्रतिक्रिया दिनुहोस्