मौलिक हक अधिकारविरुद्धको विधेयक संसदबाट पास हुन दिन्न : शेरबहादुर देउवा



काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको दूरसञ्चारसम्बन्धी विधेयकमार्फत टेलिफोन प्रयोगकर्तामाथि गर्न लागिएको कडाइप्रति आपत्ति जनाएका छन् ।

३७ औँ विपी स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनीयताको हकमाथि धावा बोल्न लागेको आरोप लगाए ।

सभापति देउवाले विपीले स्वतन्त्रता र राष्ट्रियताका लागि कांग्रेस लडाई लडेको भन्दै केपी ओली नेतृत्वको सरकारले ल्याएका यस्ता स्वतन्त्रता र मौलिक हक अधिकारविरुद्धको विधेयक संसद्बाट कुनै हालतमा पारित हुन नदिने भन्दै आवश्यक परे सडक सङ्घर्ष थाल्ने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा विपीले धेरै वकालत गरेको भन्दै उनले अंकिकार गरेको प्रणालीअन्तर्गत नै अहिलेको शासन प्रणाली स्थापना भएको बताए ।

शासन प्रणाली सही भए पनि वर्तमान शासक परिवर्तनको खिलाफमा रहेकाले व्यवस्था मजबुत बन्न नसकेको उनको भनाइ थियो ।कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पुराना राजनीतिज्ञ ढुण्डीराज शास्त्री लगायतकाले विपीको राजनीतिक योगदानको चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्