वीरगन्ज : बाराको सुवर्णमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । गाउँपालिका १ बगहीमा अज्ञात समूहको गोली लागेर बगहीस्थित नहर छेउमा अन्दाजी २१ वर्षीय युवकको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक युवकको कन्चटमा गोली लागेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ । मृतक युवकको हातमा ट्याटुले खोपेर सौरभ लेखिएको भएपनि उनको सनाखत हुन नसकेको बाराका प्रहरी प्रवक्ता रन्जित सिंह राठौरले बताए ।
सोमबार बिहान २ बजेतिर बगही नहर छेउमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतक युवकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए ।
मृतक युवकको कन्चटमा गहिरो घाउ देखिएकाले गोली हानेर हत्या गरिएको अनुमान गरिएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।