अवरुद्ध रंगशाला निर्माणको काम सुरु हुने



चितवन : चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माणकार्य मंगलबारबाट सुरु गरिने भएको छ। यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो।

सीताराम कट्टेल (ध्रुर्मुश) कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५, रामपुरमा रंगशाला निर्माण थालिएको हो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘ध्रुर्मुश’ले मंगलबारबाट काम सुरु गर्न लागिएको जानकारी दिए।

कट्टेल आइसकेका छन् भने फाउण्डेसनका कर्मचारी आज चितवन आउँदैछन्। कट्टेलकाअनुसार आज बिहान रंगशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको छलफलपछि काम सुरु गर्ने सहमति भएको हो।

समितिका संयोजक जिल्ला समन्वय समिति चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार आजको बैठकमा उद्योग वाणिज्य संघ, उद्योग संघ, निजामति कर्मचारीलगायत जो जसले जेजति रकम रंगशालाका लागि बोलकवल र संकलन गरेको छ, यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको छ।

सातवटै पालिकामा चार दिनभित्र सहयोग समिति गठन गरी नयाँ ऊर्जाका साथ कामलाई अघि बढाउने सहमति भएको डल्लाकोटीले जानकारी दिए। गुरुयोजना बनाउने कामलाई तीव्रताका साथ अघि बढाउने पनि छलफलमा सहमति भएको छ। संयोजक डल्लाकोटीले रंगशाला नेपालीको सम्पत्ति हुने भएकाले सबैको साथ र सहयोगबाट नयाँ ऊर्जाका साथ काम थाल्न लागिएको बताए।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले मङ्गलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गरिन्। रंगशाला निर्माणका लागि वातावरण बनिसकेको भन्दै उनले वर्षातको समयमा गर्न मिल्ने काम अघि बढाइने बताए। आर्थिक संकलन गरी पहिलो चरणमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर छिटो निर्माणको काम सुरु गर्ने योजना रहेको दाहालको भनाइ छ।

फाउण्डेसनका अध्यक्ष कट्टेलले विस्तृत अध्ययन प्रतिवेदनको काम जहाँ पुगेको छ, आजैबाट त्यो अघि बढ्ने जानकारी दिँदै रंगशालाको निर्माणस्थलको काम पनि अघि बढाइने बताए। बार, मैदान व्यवस्थापन र आवश्यक संरचना निर्माणका काम अघि बढाइने उनको भनाइ छ।

रंगशाला निर्माणका लागि ६ करोड ५० लाख बोलकवल भएको भए पनि हालसम्म सबै रकम संकलन भइसकेको छैन। फाउण्डेसनले दुबई र मलेसियामा आर्थिक सहयोगका लागि रकम संकलन गर्न कार्यक्रम गरिसकेको छ। काम सुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम सुरु गरिने उनले जानकारी दिए।

झण्डै तीन अर्ब लगानी गरेर रंगशाला निर्माण गर्न लागिएको हो। भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा रंगशाला निर्माणका लागि छुट्याएको छ।

प्रतिक्रिया दिनुहोस्