एमालेले अस्थिरता ल्याएकाले स्थानीय चुनावबाटै रोक्नुपर्छ : पौडेल



बुटवल । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद् विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताएका छन् ।

गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा बोल्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक स्थिरता खल्बल्याउने निमित्त नायक भएको आरोप लगाएका हुन् । उनले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहका चुनावमा पराजित गर्नुपर्ने भनाइ राखे ।

एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’ पौडेलले भने । ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको भन्दै पौडेलले राजनीतिक स्थिरताका लागि प्रगतिशील गठबन्धनलाई बलियो बनाएर एमालेका गठबन्धनलाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ । ‘दिउसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसंग लम्पसार पर्ने’, पौडेलले भने, ‘महेन्द्रले पनि राष्ट्रवादको नाममा ठगेका थिए, ओलीले पनि ठगेका छन् ।’

नेता पौडेलले जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताए ।

प्रतिक्रिया दिनुहोस्