युभेन्टसविरुद्धको गोल करियरकै उत्कृष्ट : केन



काठमाडौं : इङ्लिस क्लब टोटेनह्यामका स्ट्राइकर ह्यारी केनले आफूले युभेन्टसविरुद्ध करियरकै उत्कृष्ट गोल गरेको बताएका छन्।

इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत इटालियन क्लब युभेन्टसलाई हराउँदा निर्णायक गोल गरेका केनले खेलपछि यस्तो बताएका हुन्। टोटेनह्यामले आइतबार साँझ सम्पन्न खेलमा युभेन्टसलाई ३–२ ले हराएको थियो।

जसमा, केनले दोस्रो हाफको इन्ज्युरी समयमा उत्कृष्ट गोल गरेका थिए। खेल २–२ गोलको बराबरीतर्फ उन्मुख भइरहेको बेला टोलीको कप्तानी समेत रहेका केनले अविश्वसनीय प्रहार गरे।

उनले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक वोजचिएक सेचेज्नीको टाउको माथि हुँदै गोलमा परिणत भएको थियो। सिंगापुरमा भएको उक्त खेल जितेपछि पत्रकारसँग कुरा गर्दै केनले आफूले गरेको उक्त गोल करियरकै उत्कृष्ट गोल भएको बताए।

उनले भने,‘यो मेरो करियरकै उत्कृष्ट गोल हो। मैले गोलकिपरलाई टाढा देखेको थिएँ। त्यसर्थ मैले मौकाको फाइदा उठाएँ। मैले प्रहार गरेपछि गोलरक्षक पोस्टतिर जाँदै थिए, तर गोल भइसकेको थियो।’

प्रतिक्रिया दिनुहोस्