क्रिकेटर शक्तिसहित १५ खेलाडी सम्मानित 



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन गृहनगरमा सम्मानित भएका छन्। केही समयअघि क्रिकेटबाट सन्यास घोषणा गरेका शक्तिलाई प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो।

मन्त्रालयले शक्तिसँगै वसन्त रेग्मी, सोमपाल कामी, युवा क्रिकेटरहरू कुशल मल्ल, सागर ढकाल र फिजियोथेरापिस्ट बिक्रम न्यौपानेलाई सम्मान गरेको छ। शक्ति, वसन्त र सोमपाललाई उत्कृष्ट खेलाडी तथा रोहित, कुशल र सागरलाई युवा प्रतिभाको रुपमा सम्मानित गरिएको हो।

प्रदेश–५ का उत्कृष्ट खेलाडी र युवा प्रतिभा गरि क्रिकेटका ७ र अन्य विभिन्न खेलकुदका ८ जना खेलाडी गरि कुल १५ खेलाडी १० हजार रुपैँयासहित सम्मानित भएका हुन्। खेलाडीहरूलाई प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा शक्तिसँगै कुशल र सागर उपस्थित भए पनि सोमपाल, वसन्त र रोहित सिंगापुरमा रहेका कारण उपस्थित भएनन्। उनीहरु आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोट खेल्न सिंगापुरमा छन्। शक्तिले गृहनगरमा क्रिकेट एकेडेमी सञ्चालन गरेका छन्।

सम्मानित हुने खेलाडीहरू

शक्ति गौचन(क्रिकेट), सोमपाल कामी (क्रिकेट), वसन्त रेग्मी (क्रिकेट), कुशल मल्ल (क्रिकेट), सागर ढकाल (क्रिकेट), रोहितकुमार पौडेल (क्रिकेट), बिक्रम न्यौपाने (क्रिकेट फिजियोथेरापिस्ट), साजन पचभैया (तेक्वान्दो), नवराज खरेल (तेक्वान्दो), भुवन श्रेष्ठ (तेक्वान्दो), सुदीप थारु (एथलेटिक्स), तुल्सीराम थारु (२०० मिटर दौड), सागर खासु मगर (कराते एकल), लक्ष्मी रेग्मी (लङ्गजम्प), गोपी प्रसाद तिमिल्सेना (खो खो)

प्रतिक्रिया दिनुहोस्