निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली लाङटाङ प्रस्थान



रसुवा । ३० वैशाख हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली लाङटाङ प्रस्थान गरेको छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि हिँडेर जानुपर्ने भएकाले टोली आइतबार बिहानै निर्वाचन सामग्रीसहित लाङटाङ तर्फ प्रस्थान गरेको हो ।

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

टोली सोमबार मतदान केन्द्रमा पुग्नेछ । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको हो । लाङटाङमा ३६३ मतदाता छन् । गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ ।

मतदानसम्बन्धी आवश्यक ज्ञान तथा सिप प्रदान गर्नका लागि नौकुण्ड गाउँपालिका र लाङटाङ जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार नै तालिम प्रदान गरिएको छ । बाँकी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आइतबार तालिम प्रदान गरिनेछ ।

जिल्लाको मतदान केन्द्रहरूमा २५५ कर्मचारी खटाइनेछ । जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्