कलाकारको तिहारः के दिदैछन् भाइटीकामा उपहार ?



विपिन कार्की, अभिनेता

अघिल्लो तिहारमा दिदीलाई मोबाइल फोन किनिदिएको थिएँ । उहाँ निकै खुशी हुनुभएको थियो । काका बित्नुभएकाले यसपालि तिहार मनाइँदैन । तिहार नमनाए पनि दिदीलाई उपहार चाहिँ दिन्छु । उहाँलाई मन पर्ने कुरा किनिदिनेछु। 

पशुपति शर्मा, गायक

हाम्रोमा दिदीलाई ढोगेर पैसा दिने चलन छ । मैले पनि दिदीको खुट्टा ढोगेर पैसा नै दिने गरेको छु । उपहार खासै किन्दिनँ ।

कुमार कट्टेल, कलाकार

दिदीबहिनीलाई धेरैजसो लुगालत्ता नै उपहारमा दिन्छु । कहिलेकाहीँ उनीहरूलाई सोधेर चाहिएको सामान किनिदिन्छु भने कहिले आफूलाई मन पर्ने सामान  उपहारमा दिन्छु । कहिलेकाहीँ सप्राइज पनि दिने गरेको छु । यसपालि दिदीबहिनीलाई सानोठूलो जस्तो भए नि सुनको गहना बनाइदिने सोचमा छु । 

कमलमणि नेपाल, कलाकार

मैले टीका लगाएर दिदीबहिनीलाई पैसा नै दिन गरेको छु । पैसा दिँदा उनीहरूले चाहेको कुरा किन्न पाउँछन् । 

जेबी डिसी, कलाकार

हाम्रोतिर दिदीबहिनीलाई लुगा र पैसा दिने चलन छ । यसपालि भाइटीकामा लुगा र पैसा उपहारमा दिनेछु ।

एकनारायण भण्डारी, गायक

गत वर्ष बहिनीलाई कुर्तासुरुवालसँग दक्षिणा दिएको थिएँ । यो वर्ष बहिनीलाई सोधेर उनलाई चाहिएको सामान किनिदिने सोचेमा छु ।

सुजित थापा, कलाकार

पोहोरसम्म दुवै दिदीलाई भाइटीकाको उपहारस्वरूप पैसा दिन्थेँ। यसपालि चाहिँ जिन्सी उपहार दिने इच्छा छ । उनीहरूलाई काम लाग्ने र भाइलाई सम्झिरहने केही सामान किनिदिनेछु ।भरसक सुनको गहना उपहार दिनेछु । 

मञ्जु पौडेल, कलाकार

अघिल्लो तिहारमा दुवै भाइबाट पैसा, घडी, कुर्ता पाएकी थिएँ । एउटा भाइले घडी किनिदिएको थियो भने अर्कोले मलाई मन परेको कुर्ता । मैले भाइहरूलाई सुटप्यान्ट उपहार दिएकी थिएँ ।यसवर्ष उनीहरूलाई सोधेर चाहिएको सामान किनिदिनेछु । 

रक्षा क्षेष्ठ, कलाकार

गत भाइटीकामा दक्षिणा पाएकी थिएँ । मैले चाहिँ दाइका लागि टिसर्ट किनिदिएकी थिएँ । यसपालि दाइले औँठी बनाइदिनुभएको छ । जो मैले तिहारअघि नै लगाइसकेँ । मैले दाइका लागि घडी किन्ने प्लान बनाएकी छु । 

महिमा सिलवाल, कलाकार

अघिल्लो साल तिहारमा भाइलाई ब्लेजर दिएकी थिएँ । उसले मलाई जिन्स र टिसर्ट उपहार दिएको थियो । यो वर्ष भाइलाई मन पर्ने ब्रान्डको घडी उपहार दिने सोच छ । 

सिर्जु अधिकारी, कलाकार

गत वर्षको तिहारमा कुर्तासुरुवाल उपहार पाएकी थिएँ । मैले ढाका टोपी अनि स्वेटर उपहार दिएकी थिएँ । यसपालि तिहारमा भाइलाई सुहाउने ज्याकेट किनिदिनेछु ।

दिक्पाल कार्की,मोडल 

मैले दिदी बहिनीहरूलाई गच्छेअनुसार नगद र कपडा उपहार दिने गरेको छु । मेरो आफ्नै चाहिँ एक जना दिदी भएपनि म छ जना दिदी बहिनीसँग भाइटीका लगाउँछु । मलाई सबैले कस्तो खालको कपडा मन पराउँछन् भन्ने थाहा छ । त्यही अनुसार कपडा किनेर उपहार दिन्छु । दिदी बहिनीले पनि मलाई मिठाइसँगै कपडा उपहार दिने गरेका छन् । 

 

-अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्