साफ उपविजेता महिला टोली विराटनगरमा नगदसहित सम्मानित



काठमाडौं : पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। महानगरपालिकाले प्रतियोगिता सम्पन्न भएको ५ महिनापछि खेलाडीलाई सम्मान गरेको हो।

विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले साफ उपविजेता टोलीलाई जनही ५० हजार नगदले सम्मान गरे। सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन्।

यस्तै नेपाली टोलीलाई मंगलबार प्रदेश नम्बर एक सरकारले जनही १ लाख नगदले पुरस्कृत गर्दैछ। विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।

तरपनि, महानगरपालिकाले उपविजेता बनेको नेपाली टोलीलाई जनही ५० हजार दिने निर्णय गरेको थियो। त्यस्तै उपविजेता नेपाली टोलीलाई बुधबार सरकारले नगदसहित सम्मान गर्दैछ।

युवा तथा खेलकुद मन्त्रालयले नेपाली टोलीको २० सदस्सीय खेलाडी र एक प्रशिक्षकलाई जनही ३२ हजारसहित सम्मान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्