राजपा र समाजवादी पार्टी एकीकरणनजिक, चार अध्यक्ष हुने



काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) र समाजवादी पार्टीले एकताका लागि छलफल तीव्र बनाएका छन् । शासकीय स्वरूप, निर्वाचन प्रणाली र समाजवादी पार्टीको सरकारबाट बहिर्गमनबाहेकका विषयमा दुवै पार्टीबीच अनौपचारिक सहमति जुटिसकेको छ । सरकारबाट बहिर्गमनका विषयमा भने सहमति जुटाउन मुस्किल परेको नेताहरूले बताएका छन् । १५ दिनदेखि दुवै पार्टीका शीर्ष नेताहरूबीच पटक–पटक भएका अनौपचारिक वार्तामा अध्यक्ष मण्डल, पदाधिकारी, केन्द्रीय समिति, जिल्ला समिति, पार्टीको आदर्श र सिद्धान्तलगायत विषय सैद्धान्तिक रूपमा टुंगिइसकेका छन् । 

राजपा अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतो तथा समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वार्तासमितिका नेताहरूबीच दैनिकजसो अनौपचारिक वार्ता भइरहेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अहिलेसम्म भएका अनौपचारिक वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताए । ‘अहिलेसम्म भएको अनौपचारिक कुराकानी सकारात्मक छ,’ उनले भने, ‘संघीय संसद् र प्रदेश सभामा दुवै पार्टीको समान स्तर भएकाले समान हैसियतमा रहेर नाम, झन्डा, सैद्धान्तिक अवधारणा, शासकीय स्वरूप, निर्वाचन प्रणाली, संगठनको संरचना टुंग्याउनुपर्छ ।’ 

नेतृत्व व्यवस्थापनका लागि एकीकरणपछि महाधिवेशनसम्मका लागि चार अध्यक्ष हुने अनौपचारिक सहमति भएको छ । चार अध्यक्षमा राजपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो तथा समाजवादी पार्टीबाट उपेन्द्र यादव र डा. बाबुराम भट्टराई राख्ने सहमति जुटेको पनि दुवै पार्टी स्रोतले जानकारी दिएको छ । हाल राजपामा ६ अध्यक्ष छन् भने समाजवादी पार्टीमा दुई अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस्