डेढ लाख उम्मेदवारको निर्वाचनमा ४ नेताको दन्तबझान



काठमाडौं । ५ वर्षे स्थानीय सरकारको प्रतिनिधि हुन १ लाख ४५ हजार ९२ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्येबाट ३५ हजार २२१ जना निर्वाचित हुनेछन्। निर्वाचन अबको चौथो दिनमा हुँदै छ। तर, निर्वाचनको समय जति नजिकिँदै छ, त्यति नै राजनीतिक दलका नेताहरू भने एकअर्कालाई गाली गरेर मत मागिरहेका छन् ।

हुँदो नहुँदो आरोप पनि लगाइरहेका छन् । निर्वाचनमा त सम्बन्धित स्थानीय तहको विकास गर्न ‘रोड म्याप’सहित एजेन्डा लिएर मत माग्न मतदाताकहाँ नेता र उम्मेदवारहरू जानुपर्ने हो । ठ्याक्कै भने त्यस्तो छैन । प्रतिस्पर्धी दल र उक्त दलका नेतालाई गाली गरेर शीर्ष नेताहरू नै मतदातासँग मत मागिरहेका छन् ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी बुटवल पुगेर ५ दलीय गठबन्धनलाई ‘अलच्छिन’ भने । ‘३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर टकटक्याएर फ्याँकिदिनुपर्छ । फ्याँक्ने कामको सुरुवात कमसेकम यो ३० वैशाखको निर्वाचनले गर्छ’, ओलीले भने । ओलीले प्रयोग गरेको ‘अलच्छिन’ शब्द घृणा फैलाउने खालको भएकाले निर्वाचन आचारसंहिता आकर्षित हुन सक्छ। निर्वाचन आयोगले बारम्बार दलहरूलाई घृणा फैलाउने अभिव्यक्ति नदिन सचेत गराउँदै आएको छ । तर, ओली घृणा फैलाउने गरिएको गाली गर्न छाड्दैनन् ।

ओलीले बुटवलमै आइतबार गठबन्धन दलहरूलाई ‘स्याल’सँग तुलना पनि गरे। एमाले भने ‘शेर’ भएको उनको दाबी छ । ओली गाली मात्र गर्दैनन्, गठबन्धन दलहरूलाई अनेक आरोप पनि लगाउँछन्। उनको बढी आरोप प्रमुख प्रतिस्पर्धी दल कांग्रेस लक्षित छ । ‘२० वर्ष एकल सरकार चलायो । ७ वर्ष संयुक्त सरकार चलायो तर खानेबाहेक देश र जनताका लागि कांग्रेसले केही गर्न सकेन’, पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आरोप लगाए ।

सुशासन र विकासको मार्गमा तीब्र गतिमा अघि बढिरहेको आफू नेतृत्वको सरकारलाई व्यवधान खडा गरेको उनको आरोप थियो । कांग्रेस महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा निर्माण भई ११ वैशाखमा सार्वजनिक भएको घोषणापत्रमा ओली लक्षित आरोपैआरोप थियो । ओलीले त्यसपछि कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्तावेज नभएको प्रतिक्रिया दिए । उनले भनेका थिए, ‘कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज होइन, मविरुद्धको आरोपपत्र हो ।’ गाली गर्ने र आरोप लगाउने ओली एक्ला नेता भने होइनन्, उनलाई सर्वाधिक गाली गर्ने र आरोप लगाउने नेता हुन्, माओवादी अध्यक्ष प्रचण्ड ।

उनी पटकपटक ओलीलाई ‘प्रतिमनको नाइके’ भन्दै गाली गर्छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, लोकतन्त्रदेखि समानुपातिक प्रणाली जस्ता राजनीतिक उपलब्धि सिध्याउन खोज्ने दक्षिणपन्थी नेता भएको पनि आरोप लगाउँदै आएका छन् । आइतबार पोखरामा ५ दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई गाली गर्दै गठबन्धन दलका उम्मेदवारहरूलाई मत मागे । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य प्रमुख पदका उम्मेदवार छन् ।

प्रचण्डले जसरी ओलीप्रति गठबन्धनमै रहेको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गाली गर्दै आएका छन्, जबकि उनको दल पहिलो पटक निर्वाचनमा सहभागी हुँदै छ । राजनीतिक दल र तिनका नेताले निर्वाचनका एजेन्डा यतिबेला मतदातालाई सुनाउनुपर्ने हो । तर, एजेन्डा सुनाउनु त कहाँ हो कहाँ, सार्वजनिक मञ्च पाउनेबित्तिकै ओलीलाई सक्दो गाली, आरोप र आलोचना गरिरहन्छन्। उनले आइतबार पोखरा पुगेर भने, ‘उनी व्यक्तिवादी व्यक्ति हुन् । आफूबाहेक उनले संसारमा कसैलाई २ कौडीको मूल्य दिँदैनन्।

उनी कुसंस्कार बोकेर हिँडेका छन् ।’ ओली संविधान र गणतन्त्रविरोधी भएको पनि नेपालको आरोप छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा शक्ति बाँडफाँटलाई लिएर उत्पन्न विवादपछि लगातार यी २ नेताले ओलीलाई गालीसहित आरोप लगाउँदै आएका हुन् । यी २ नेताका अतिरिक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ओलीलाई ‘प्रतिगामी’ र गणतन्त्रको खिलाफमा उभिएका नेता भन्दै आएका छन्।

ओली नेतृत्वको एमालेले निर्वाचन जिते फेरि संसद् भङ्ग हुने उनले मतदाताहरूलाई भन्ने गरेका छन् । देशको शासन सत्ताको नेतृत्व पटकपटक गरेका यी शीर्ष नेताहरूको गालीसहितको आरोपलाई धेरैले ‘लज्जास्पद’ भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्