भारतीय ट्रकले ठक्कर दिँदा दुईको मृत्यु , पाँच जना घाइते (अपडेट)



हेटौडा:मकवानपुरको हेटौडामा भएको सवारी दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा एनएल ०१डी ८०३१ नम्बरको भारतीय ट्रक (लहरी)ले ना१ह ८८२४ नम्बरको अटो र बा६६प ६२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा अटो चालक बसामाडी घरभइ हेटौंडा ९ बस्ने सुजन ढकाल र मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । दुर्घटनामा घाइते ५ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

लहरीले ना५ख ३१४१, ना५ख ५११३ नम्बरको बस र ना१ज ७७८६ नम्बरको सुमोलाईसमेत उक्त लहरीले ठक्कर दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्